काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोउल पोग्बाले क्लबसँग आफ्नो सबै विषय ठीक रहेको र शतप्रतिशत मेहनतमा लागिरहेको बताएका छन्। पोग्बा क्लबसँग बेखुस रहेको र उनी निस्किन चाहेको खबरहरु आइरहँदा आफ्नो क्लबसँगको सम्बन्ध राम्रो रहेको बताएका हुन्।
यसअघि गएको हप्ता मात्रै पोग्बाका एजेन्ट मिनो रायोलाले पोग्बा क्लबमा खुसी नरहेको भन्दै अर्को क्लब जानसक्नेतर्फ संकेत गरेका थिए। ‘मैले युनाइटेडमा राम्रो गर्नका लागि सधैँ मेहनत गरिरहेको छु्, आफ्नो स्थानका लागि सधैँ लडिरहने पनि छु’ पोग्बाले इन्स्टाग्राममा लेखेका छन्।
‘ह्यान त्यान अरु कुराहरु महत्वपूर्ण विषय होइनन्, भविष्य हेर्दा अगाडि बाटो निकै छ। अहिले महत्वपूर्ण कुरा भनेको म मनबाट मैदानमा हजार प्रतिशत उपस्थित छु। क्लब र मेरो विषयमा सबै कुरा स्पष्ट छ जुन कहिल्यै परिवर्तन हुने छैन’ उनले लेखेका छन्।
२०१६ मा इटालियन क्लब युभेन्टसबाट ८९ मिलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड गएका पोग्बाको सम्झौता २०२२ सम्मका लागि रहेको छ।