काठमाडौं- च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब बार्सिलोनालाई ३–० ले हरायो। जसमा क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरे।
२०१८ को मे पछि रोनाल्डो र मेस्सीबीच भएको प्रतिस्पर्धामा गोल गरेका रोनाल्डोले मेस्सीसँग आफ्नो सौहार्दपूर्ण सम्बन्ध रहेको र उनलाई कहिल्यै प्रतिद्वन्द्वीका रुपमा नहेरेको बताएका छन्। ‘मेस्सीसँग मेरो सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको छ। मैले १२, १३, १४ वर्षसम्म अवार्ड कार्यक्रम उनीसँगै साझेदारी गरेको छु, उनलाई प्रतिद्वन्द्वीको रुपमा कहिल्यै हेरेको छैन’ खेलपछि रोनाल्डोले भनेका छन्।
‘मेस्सीले सधैँ आफ्नो टिमका लागि कसरी राम्रो गर्न सक्छु भनेर ध्यान दिइरहेका हुन्छन्, मैले पनि त्यही गरिरहेको हो। म सधैँजसो मेस्सीसँग राम्रो सम्बन्धमा छु। हामीलाई थाहा छ, सञ्चार माध्यममा देखाउन यो प्रतिद्वन्द्वीको विषय ठूलो स्वरमा प्रचार गरिएको हुन्छ तर मैले उनीसँग सधैँ राम्रो व्यवहार गरेको छु। सधैँ उही रुपमा हेरिरहेको हुन्छु’ उनले भने।
मंगलबार रातिको खेलमा दुई गोलमार्फत रोनाल्डोले जितमा भूमिका खेलिरहँदा गोलविहीन मेस्सीको प्रभाव पनि राम्रो नै देखिएको थियो। मेस्सीले खेलमा ११ प्रहार पोस्टमा गरेर गोल गर्न नसक्नु च्याम्पियन्स लिगको एक खेलमा एउटा खेलाडीको सबैभन्दा बढी सटमा गोल हुन नसकेको रेकर्ड हो।
च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सीबीचको टिमको भेट हुँदा समग्रमा अवस्था उस्तै नै देखिन्छ। रोनाल्डो सम्मिलित टिमविरुद्ध च्याम्पियन्स लिगमा मेस्सी सम्मिलित टिमको दुई खेलमा जित, दुई बराबरी र दुई हार भएको देखिन्छ।