आनिजामातो स्टेडियममा बुधबार भएको खेलमा स्विडेनले अमेरिकालाई ३–० गोल अन्तरमा पराजित गरेको हो । समूह जीको खेलमा स्विडेनको ३ अंक भएको छ ।
स्विडेनलाई पहिलो खेलमा नै जित दिलाउन स्टिना ब्लाकस्टेन्सले २ र लिना हुर्टिङले एक गोल गरिन् ।
२५ औं मिनेटमा पहिलो गोल गरेकी स्टिनाले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ७२ औं मिनेटमा लिनाले गोल गरेपछि स्विडेन ३ अंक बटुल्न सफल भयो ।
दोस्रो खेलमा स्विडेनले अष्ट्रेलिया र अमेरिकाले न्युजिल्याण्डसँग जुलाई २४ मा खेल्नेछन् ।
बुधबार नै भएका अन्य खेलमा बेलायतले चिलीलाई २–० ले र ब्राजिलले चीनलाई ५–० ले पराजित गरे ।
कोरोना महामारीका कारण एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भने शुक्रबार हुनेछ ।