काठमाडाैं- अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जितेको छ। ४७औं संस्करणको कोपामा आयोजक ब्राजिललाई फाइनलमा १-० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो।
यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमानसमेत बराबरी गरेको छ। सन् १९९३ पछि अर्जेन्टिनाले पहिलोपटक कोपाको उपाधि जितेको हो। यस्तै, अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीको यो नै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
हुन त यस अगाडि अर्जेन्टिनाले चार कोपा फाइनल, एक विश्वकप फाइनल र दुई कन्फेडेरेसन कप फाइनल गरी कूल सात फाइनल खेलेको थियो। तर, सबैमा उपविजेतामा सीमित भएको थियो।
२००४, २००७, २०१५ र २०१६ को कोपा फाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो। तर, यसपटक भने अर्जेन्टिनाले ब्राजिललाई घरमै पराजित गरेर हारको यात्रालाई ब्रेक लगायो।
यस्तै, कप्तान मेसीले पनि पाँचाैं पटक फाइनल खेल्दा डेढ दशकको प्रयासपछि पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि चुमेका छन्। मेसीले यसघि २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेलेका थिए। मेसीले यस संस्करण कोपामा चार गोल र पाँच असिस्ट गरे।
रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा ब्राजिललाई हराउन अर्जेन्टिनाका लागि एन्जल डी मारियाले २२औं मिनेटमा निर्णायक गोल गरे।
यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डी मारियाले फाइनलमा सुरुआती ११ मै परेका थिए। रोड्रिगो डे पउलको लामो पासमा उनले अफसाइट ट्र्याप बिट गर्दै गोलकिपरसँग ‘वान भर्सेस वान’को अवस्थामा चिप गोल गरेका थिए।
अर्जेन्टिनाले ठूलो प्रतियोगितामा फाइनलमा गोल गरेको यो नै १६ वर्षपछि पहिलो हो। सन् २००५ मा अर्जेन्टिनाले पछिल्लोपटक गोल गरेको थियो। त्यो बेला कन्फेडेरेसन कपमा अर्जेन्टिना ब्राजिलसँगै पराजित भएको थियो।
यस्तै, कोपामा भने अर्जेन्टिनाले २००४ मा पछिल्लोपटक गोल गरेको थियो। ‘यो मेरो लागि अविस्मरणीय क्षण हो, मेसीले मलाई धन्यवाद भने। मैले मेसीलाई धन्यवाद भनेँ। उनले मलाई यो मेरो अन्तिम फाइनल खेल हो भने। हामीले आजको लागि जे अपेक्षा गरेका थियौँ त्यही भयो,’ खेलपछि डी मारियाले भने।
उनले फाइनल खेल मेसीकै लागि खेलेकोसमेत दोहर्याए। ‘हामीले आजको दिन मेसीको हातमा अन्तर्राष्ट्रिय उपाधि देख्न चाहेका थियाैं। आजको दिन पनि गुमेको भए हामीले मेसीको हातमा अन्तर्राष्ट्रिय उपाधि नदेख्न सक्थ्यौं,’ उनले भने।
उनले अबको तयारी विश्वकपको लागि हुनेसमेत बताए। ‘हामीलाई समर्थन गर्ने सबै मानिस सबै खुसी छन्। अब चाँडै विश्वकप आउँदै छ, विश्वकपका लागि आजको सफलता हाम्रा लागि ठूलो प्रोत्साहन हो। अबको तयारी विश्वकप,’ उनले भने।