काठमाडौं- स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा रियल मड्रिड अलाभेससँग २–१ ले पराजित भएको छ। खेलको पाँचौँ मिनेटमा नै पाएको पेनाल्टीमा पेरेजले गोल गर्दै अग्रता बनाएको अलाभेसका लागि जोसेलुले खेलको ४९औँ मिनेटमा दोस्रो गोल गरेका थिए।
खेलको २८औँ मिनेटमा चोटका कारण इडन हाजार्ड बाहिरिएपछि पनि रियल मड्रिडले खेलमा दबाब बनाइरहेको थियो। ८६औँ मिनेटमा क्यासेमिरोको गोलले खेलमा फर्किए पनि मड्रिडका लागि त्यो पर्याप्त भएन।
२०१९ मा १ सय ५० मिलियन पाउण्डमा इंग्लिस क्लब चेल्सीबाट रियल मड्रिड गएदेखि नै हाजार्ड लगातार चोटले सताइएका छन्। भर्खरै चोटबाट फर्किएर लिगमा अलाभेससँगको खेल हाजार्डको तेस्रो सुरुवाती खेल मात्र थियो।