November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लिभरपुलमाथि रियलको सानदार जित

3.2K

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । मार्को एसेन्सियोले एक गोल थपे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । यससँगै उनी च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने रियलका दोस्रो कान्छा खेलाडी बने ।

Advertisement

भिनिसियसले २० वर्ष २ सय ६८ दिनको हुँदा गोल गरेका हुन् । सर्वाधिक कम उमेरमा गोल गर्ने कीर्तिमान भने राउलको नाममा रहेको छ । उनले सन् १९९६ मा १८ वर्ष २ सय ५३ दिनको हुँदा युभेन्ट्सविरुद्ध गोल गरेका थिए । ३६ औं मिनेटमा एसेन्सियोले गोल गर्दा पहिलो हाफमा रियल २-० ले अघि रह्यो । खेलको ५१ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोशिस गरे ।

तर, खेलको ६५ औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जित सुनिश्चित गरे ।  यस जितसँगै रियलले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने घरेलु मैदानमा हुने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

एनफिल्डमा हुने दोस्रो लेग आगामी अप्रिल १४ मा हुनेछ ।