एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले साँघुरो जित निकालेको छ । सोमबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल भालाडोलिटलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । डेम्बेलेले खेलको ९० औं मिनेटमा गोल गरेका थिए । यस्तै खेलको ७९ औं मिनेटमा ओस्कार प्लानोले रातो कार्ड पाएपछि भालाडोलिट १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको भन्दा १ अंकले मात्र पछि रहेको छ बार्सिलोनाले २९ खेलमा ६५ अंक जोडेको छ । भालाडोलिट २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।