November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लेवान्डोस्कीले इंग्ल्याण्डविरुद्ध खेल्न नसक्ने

2.2K

काठमाडौं- पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकप छनोटअन्तर्गत बुधबार राति इंग्ल्याण्डसँग हुने खेल गुमाउने भएका छन्। घुँडामा लागेको चोटका कारण उनले छनोट चरणको महत्त्वपूर्ण खेल गुमाउने भएका हुन्।

जर्मन क्लब बायर्न म्युनिकमा रहेका ३२ वर्षका लेवान्डोस्की विश्वकप छनोटअन्तर्गत नै आइतबार राति एन्डोरासँग भएको खेलमा घाइते भएका हुन्। जहाँ लेवान्डोस्कीले दुई गोल गरेका थिए।

खेलको ३०औँ मिनेटमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका उनले ५५औँ मिनेटमा दोस्रो गोल गरेका थिए। खेलमा तेस्रो गोल ८८औँ मिनेटमा कारोल स्वीड्रेस्कीले गरेका थिए। लेवान्डोस्की खेलको ६३औँ मिनेटमा घाइते भएका थिए।
 
पोल्याण्ड फुटबल एसोसिएसनले लेवान्डोस्की कम्तीमा १० दिन मैदानबाहिर रहने जानकारी दिएको छ। चोटका कारण लेवान्डोस्कीले च्याम्पियन्स लिग क्‍वाटरफाइनलअन्तर्गत अप्रिल ८ मा हुने पिएसजीविरुद्धको खेल पनि गुमाउने आशंका गरिएको छ। 

Advertisement

यो सिजन लेवान्डोस्कीले बायर्न म्युनिकबाट ३६ खेलमा ४२ गोल गरिसकेका छन्।