काठमाडाैं : कतार विश्वकप युरोपेली छनोटअन्तगर्त भएको खेलमा फ्रान्सले काजकस्तानलाई २–० गोलअन्तरले हराएको छ। आइतबार साँझ भएको खेलमा फ्रान्सका लागि बार्सिलोना स्ट्राइकर उसमान डेम्बेलेले १३ मिनेटमा पहिलो गोल गरेका थिए।
सुरुवातदेखि नै काजकस्तानलाई दबाबमा राखेको फ्रान्सले लागि ४४ मिनेटमा आत्मघातीमा दोस्रो गोल उपहार पायो। म्यानचेस्टर युनाइटेडका पाउल पोग्बाले हेडमार्फत गरेको प्रहार विपक्षी खेलाडीलाई लागेर गोलमा परिणत भएको थियो।
पहिलो हाफमा बनाएको अग्रताले नै फ्रान्स विजयी भयो। खेलको उत्तरार्द्धमा फ्रान्सले पेनाल्टी पाएको थियो। दोस्रो हाफमा मैदान प्रवेश गरेका किलियन एम्बाप्पेको उक्त पेनाल्टी प्रहार काजकस्तानका गोलरक्षक अलेक्जेन्डर मोकिनले फर्काइदिएका थिए।
योसँगै दुवै तर्फबाट थप गोल हुन सकेन। समूह ‘डी’ मा रहेको फ्रान्सले योसँगै पहिलो जित दर्ता गराएको छ। उसले अघिल्लो खेल युक्रेनसँग बराबरी खेलेको थियो। यही समूहको काजकस्तानले भने अघिल्लो खेल पनि लिथुवानियासँग २–१ ले हारेको थियो।
छनोटअनतर्गत फ्रान्सले अप्रिल १ मा बोस्निया हर्जगोभिनासँग खेल्नेछ।