काठमाडौं– घरेलु टिम भारतले इंग्ल्यिान्डविरुद्धको टि–२० क्रिकेट सिरिज जितेको छ। शनिबार राति भएको अन्तिम खेलमा भारतले इंग्ल्यान्डलाई ३६ रनले पराजित गर्दै सिरिज जितेको हो।
पाँच खेलको सिरिज भारतले ३–२ ले जितेको हो। २२५ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८८ रन मात्रै बनाउन सक्यो। जस बटलर र डेविड मलानले उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा इंग्ल्यान्ड हारेको हो।
शुन्यमै पहिलो विकेट गुमाएको इंग्ल्यान्डले दोस्रो विकेटको लागि १३० रनको साझेदारी गरेको थियो। जसमा डेविड मलानले ६८ र जस बटलरले ५२ रन बनाए। अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिदा इंग्ल्यान्ड भारतसँग ३६ रनले पराजित भएकाे हो।
भारतका लागि बलिङमा शार्दुल ठाकुरले तीन र भुवनेश्वर कुमारले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २२४ रनको उच्च योगफल तयार पारेको थियो।