विराटनगर । छैठौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत अन्तिम साताबाट सुरु हुने भएको छ ।
आउँदो चैत्र २६ गते साँझ ७ बजेदेखि विराटनगरको सहिद रङ्गशालामा रात्रीकालीन विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मलेन गर्दै विराट गोल्ड कप फुटबल ट्रष्टले प्रदेश सरकारको लगानीमा सहिद रङ्गशालामा फर्डलाईट जडानको कार्य सम्पन्न भएसँगै रात्रीकालीन गोल्डकपको आयोजना गरिएको जनाएको छ । गोल्डकप चैत्र २६ देखि सुरु भएर बैशाख ४ गते समापन हुने आयोजकले जानकारी दिएको छ ।
गोल्डकपलाई सफलतापुर्वक सम्पन्न गराउन ट्रष्टका सदस्य मनोज बिक्रम शाहको संयोजकत्वमा मूल आयोजक समिति निमार्ण गरिएको छ । प्रतियोगितामा विदेशी टिम भारत र क्यामरूनका सहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहने आयोजक समितिका संयोजक शाहले जानकारी दिनुभयो ।
गोल्डकपमा भारत पञ्जाब पुलिस, झारखण्डको टाटा एकेडेमी र क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन लगायतको टीम पनि प्रथम पटक सहभागि हुँदैछ । नेपालको मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब, संकटा क्लब, राष्ट्रिय लिग बिजेता टिम मच्छिन्द्र क्लब, रुपन्देही र विराटनगर–११ टीम पनि सहभागि हुने आयोजकले जनाएको छ ।
यसका लागी हुने सम्पुर्ण खर्चको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरेको विराट गोल्डकप फुटबल ट्रष्ट आयोजक समिति विराटनगरका संयोजक मनोज बिक्रम शाहले जानकारी दिनुभयो ।
गोल्डकप ट्रष्टले विगतका वर्षहरूको तुलनामा यसबर्षको विजेताले पाउने पुरस्कार राशी पनि बढाएको छ । गोल्डकप विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित आकर्षक शिल्ड पनि पाउने आयोजकले जनाएको छ । यसअघिको पाँचौ संस्करण विजेताले १३ लाख र उपविजेताले ७ लाख नगद पुरस्कार पाएको थियो । पाँचौ संस्करण थ्री स्टार क्लब विजेताको उपाधि हात पारेको थियो भने आर्मीले उपविजेताको उपाधि हात पारेको थियो ।
यसबर्ष प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई मोटरसाईकलसहित पदक प्रदान गर्ने योजना तय भएको आयोजक समितिका संयोजक मनोज बिक्रम शाहले बताउनुभयो । उहाँले प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता र व्यवस्थापक समेतलाई जनही २५–२५ हजार नगर पुरस्कार प्रदान गरिने तयारी रहेको जानकारी दिनुभयो ।