काठमाडौं– इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। चेल्सीले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा समग्रमा ३–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।
घरेलु टिम चेल्सीले बुधबार राति भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडलाई २–० गोलले पराजित गर्न सफल भयो। यसअघि भएको पहिलो लेगमा चेल्सीले एथ्लेटिको मड्रिडलाई १–० ले हराएको थियो।
चेल्सीको जितमा हाकिम जियच र इमर्सन पालमिरीले गोल गरे। खेलको ३४ औं मिनेटमा जियचले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए। खेलको ८१ औं मिनेटमा एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित बन्यो।
स्टेफन साभिकले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड झनै दबाबमा आएको थियो। खेलको अतिरिक्त समयमा इमर्सन पालमिरीले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए।