काठमाडौं– पाँच पटकको च्याम्पियन्स लिग विजेता स्पेनिस क्लब बार्सिलोना अन्तिम १६ बाटै बाहिरिएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो।
बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो खेलमा १–१ गोलको बराबरी खेले पनि पिएसजीसँग समग्रमा ५–२ गोलअन्तरले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो। यसअघि क्याम्प नाउमा भएको पहिलो लेगमा बार्सिलोना पिएसजीसँग ४–१ गोलअन्तरले हारेको थियो।
दोस्रो खेलमा बराबरी खेल्ने क्रममा पिएसजीका केलियन एमबाप्पेले गोल गरे। यता, बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले गोल फर्काए। खेलको ३० औं मिनेटमा पेनाल्टीबाट एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० गोलको अग्रता दिलाए। तर ३७ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरी दिलाए।
बार्सिलोनाले सुरुवातदेखि नै दबाब दिएर खेलेको थियो। तर गोल गर्न भने सकेन।