काठमाडौं– च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा बुधबार राति दुई खेल हुँदै छन्। जसमा इंग्लिस क्लब लिभरपुल र जर्मन क्लब लाइपजिग साथै स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजी खेल्नेछन्। खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ।
लिभरपुल र लाइपजिगबीच प्रतिस्पर्धात्मक खेलमा यो दोस्रो भेट हो। यसअघि पहिलो लेगमा भएको भेटमा लिभरपुलले लाइपजिगलाई २–० ले हराएको थियो। जसमा मोहम्मद सलाह र सडियो मानेले गोल गरेका थिए। गएको सिजन सेमिफाइनलसम्म पुगेको लाइपजिगसँगको खेल लिभरपुललाई दोस्रो लेगमा उति सहज हुने छैन।
यो सिजन लिभरपुल प्रिमियर लिगमा कमजोर देखिइरहँदा पनि उनीहरुको खेलमाथिको विश्वास टुटेको छ। लिभरपुल लिगमा आठौँ स्थानमा रहेको छ। जहाँ बुन्डेस लिगामा लाइपजिग बायर्न म्युनिकभन्दा तल दोस्रो स्थानमा रहेको छ। लाइपजिगले च्याम्पियन्स लिगमा अहिलेसम्म खेलेका २३ खेलमा १२ खेल जितेको छ। ८ खेल हारेको छ भने ३ खेल बराबरी खेलेको छ।
लिभरपुल च्याम्पियन्स लिगमा १३औँ पटक खेलिरहेको छ, जसमा यो नवौँ पटक अन्तिम १६ को खेलमा खेल्दै छ।