काठमाडौं– युभेन्टस च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको छ। मंगलबार राति इटालियन क्लब युभेन्टसले ३–२ गोलअन्तरले जित निकाले पनि अवे गोलको आधारमा पोर्टो क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
पहिलो लेगमा घरेलु टिम पोर्टोले युभेन्टसलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। अवे खेलमा पोर्टोले दुई गोल गर्दा युभेन्टसले भने अवे खेलमा एक गोल मात्रै गर्यो। योसँगै युभेन्टसले दोस्रो लेग जितेपनि क्वार्टरफाइनलमा भने पोर्टो पुगेको हो। दोस्रो लेगमा भने घरेलु टिम युभेन्टसविरुद्ध पोर्टोका लागि सर्जियो ओलिभेराले खेलको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए।
फेडेरिको चिसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई १–१ गोलको बराबरी दिलाए। ५४ औं मिनेटमा मेहडी तरेमीले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि पोर्टो १० खेलाडीमा सीमित भएको थियो। ६३ औं मिनेटमा फेडेरिकोले अर्को गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता दिलाए। योसँगै निर्धारित ९० मिनेटसम्म युभेन्टसले २–१ को अग्रता बनाएपनि सम्रगमा ३–३ को बराबरी भएपछि अवे खेलमा पनि दुबै टिमको बराबरी गोल भएको थियो। योसँगै ३० मिनेटको समय थप गरिएको थियो।