काठमाडौं– म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन्। युनाइटेडले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्दा लेस्टर सिटी पनि बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
घरेलु टिम क्रिस्टल प्यालेसले उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडसँग गोलरहित बराबरी खेलेको हो। अधिकांश समय युनाइटेडले बल नियन्त्रणमा राखे पनि क्रिस्टलविरुद्ध जित निकाल्न सकेन। त्यस्तै, अर्को खेलमा भने लेस्टर सिटी बर्नलीसँग १–१ गोलमा रोकिएको हो।
खेलको चौथौं मिनेटमा नै बर्नलीले गोल गर्दै लेस्टरविरुद्ध अग्रता बनाएको थियो। तर ३४ औं मिनेटमा लेस्टरका केलेचीले गोल गर्दै १–१ गोलको बराबरी दिलाए। प्रिमियर लिगमै भएको अर्को खेलमा भने शेफिल्ड युनाइटेडले एस्टन भिल्लालाई १–० ले हराएको छ।
म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँड्दा यसको प्रत्यक्ष फाइदा भने लिग लिडर म्यानचेस्टर सिटीलाई पुगेको छ। लिगको दोस्रो स्थानमा रहेको युनाइटेडको २७ खेलबाट ५१ अंक भएको छ।