July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

आइपिएल : सन्दीपलाई कुनै टिमले लिएनन्

2.5K

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को संस्करणका लागि बिहीबार खेलाडीको ‘अक्सन’ भएको छ। जसमा सुरुवाती रकम ४० लाख भारतीय रुपैयाँ राखेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कुनै टिमले लिएनन्। 

जहाँ पहिलो चरणमा नलिइएका अफगानिस्तानका १९ वर्षका अफ ब्रेक बलर मुजिब उर रहमान अन्तिम चरणमा बिकेका छन्। मुजिब उर रहमानलाई १ करोड ५० लाख भारतीय रुपैयाँमा सनराइजर्स हैदराबादले किनेको हो।

सन्दीपलाई सन् २०१७ मा तत्कालीन दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँमा आफ्नो टिममा अनुबन्धित गरेको थियो। लगातार दुई संस्करण सन्दीपलाई रिटेन गरेको अहिलेको दिल्ली क्यापिटल्सले २०२१ को संस्करणको आइपिएललाई भने रिलिज गरेको थियो। जहाँ उनी यसपटक बिकेनन्। 

Advertisement

अक्सनमा सर्वाधिक १६ करोड २५ लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले दक्षिण अफ्रिकी खेलाडी क्रिस मोरिसलाई किन्यो। मोरिस आइपिएलमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बने। यसअघि २०१५ मा भारतीय खेलाडी युवराज सिंहलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले १६ करोड भारतीय रुपैयाँमा किनेको थियो। 

यस्तै न्युजिल्यान्डका काएल जेमिसन सुरुवाती ७५ लाख भारतीय रुपैयाँबाट बढाएर १५ करोडमा रोयल च्यालेन्जर्स बैंग्लोरले किन्यो। १४ करोड २५ लाख भारतीय रुपैयाँमा अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले किनेको छ। जाय रिचार्डसनलाई १ करोड ५० लाख सुरुवाती रकमबाट बढाएर १४ करोड भारतीय रुपैयाँमा किंग्स इलाभेन पञ्जावले किन्यो।  

विश्वमा सर्वाधिक महँगो क्रिकेट प्रतियोगिता मानिने आइपिएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ। जुन प्रतियोगिता आइपिएलमा आठ टिमले खेल्ने अन्तिम प्रतियोगिता हो। २०२२ देखि भने आइपिएलमा १० टिमको सहभागिता रहनेछ। 

आइपिएलका आठ टिमले ‘रिटेन’ (टिममै राख्नु) का साथै खेलाडी ‘रिलिज’ (टिमबाट बिदा गर्नु) गर्दा राम्रा विदेशी खेलाडीहरु बाहिरिएका थिए।