काठमाडौं– आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आर्सनलले लिड्स युनाइटेडलाई ४–२ गोलअन्तरले हराएको हो।
आर्सनलको जितमा पिइरे इमेरिक आबुमेयाङले ह्याट्रिक गोल गरे। त्यस्तै, हेक्टर बेलेरिनले एक गोल थपे। लिड्सका पास्कल स्ट्रज्क र हेल्डर कोस्टाले गोल गरे। आबुमेयाङले खेलको १३ र ४१ औं मिनेटमा गोल गर्दै आर्सनललाई २–० गोलको अग्रता दिलाए। ४५ औं मिनेटमा हेक्टरले गोल गर्दा आर्सनलले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनायो। खेलको ४७ औं मिनेटमा आबुमेयाङले गोल गर्दै आर्सनललाई ४–० गोलको अग्रता दिलाए।
४–० गोलले पछि परेको लिड्सले लगातार दुई गोल गरेपनि आर्सनललाई रोक्न सकेन। ५८ औं मिनेटमा पास्कल र ६९ औं मिनेटमा कोस्टाले गोल गर्दै लिड्सलाई ४–२ गोलको स्थितिमा ल्याएका थिए। तर बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल ४–२ ले आर्सनलले जितेको हो।