स्थानः सैनिक भवन, धरान अनि आजभन्दा ३४ वर्षअघिको सम्झना । किरात याक्थुङ चुम्लुङको दोस्रो महाधिवेशनमा धनकुटाको प्रतिनिधि भएर बडो जोशका साथ हुर्रिएर त्यहाँ पुगेको थिएँ । हाम्रा नेता थिए, धनकुटा चुम्लुङका तत्कालिन अध्यक्ष टेकरत्न चेम्जोङ ।
मेरा जोर आँखाले चाहिँ वैरागी काइँलालाई उत्पातैले खोजिरहेको थियो । त्यसैबेला पुटुस्स भूँडी निस्केको, मझौला शरीर तर स्तर उच्च बनाइसकेका पत्रकार हर्ष सुब्बा दाईलाई मेरो आँखाले पहिलोपटक नोटिस ग¥यो । तर हलबाहिर हुँदा अघिदेखि ख्याक ख्याक खोकिसकेर “हाओ मलाई त चिसोले सताउनुसम्म सतायो नि हाओ” भन्ने मान्छेबाट मेरो ध्यान अलि बढी आकर्षणमा परिरहेको थियो । यिनलाई मैले हालसालै कहिँकतै देखेजस्तो लागिरहेको थियो ।
“होइन हौ सर, यो खोकिरहने मान्छे चाहिँ को हो नि ?” मैले हाम्रा नेता टेकरत्न चेम्जोङसमक्ष जिज्ञासाको विस्कुन फिजाएँ ।
“आरे नि हौ, ऊ त टीयुको गोलमेडलिस्ट पो है”, नाम र वतन होइन, विश्वविद्यालयको उपाधि र विभुषणको कुरा पो सुनाए, हाम्रा नेता चेम्जोङले । यद्यपी यो जानकारी पनि मेरो लागि ठूलै उपलब्धी थियो ।
मभित्र भने ती ब्यक्तिप्रतिको जिज्ञासाको उतारचढाव उत्कर्षमा पुगिरहेको थियो, कहाँकहाँ देखेजस्तो; कहाँकहाँ भेटेजस्तो !
उनको अनुहार र हाउभाउसँग दाँजेर विगतमा आफूले देखेको उनीजस्तै मान्छेको आकृतिको खोजीमा सम्झनाको अनेकौँ कुइनेटाहरूमा फनफनी घुम्न थालेँ ।
सम्झदासम्झदै झण्डै एक वर्षअघिको पोखराको दीपेन्द्र सभागृहभित्रको दृश्य एकाएक मेरा आँखाभरि सल्बलाउन थाले ।
त्योबेला अखिलको ११औँ राष्ट्रिय सम्मेलन थियो । म पनि एक विद्यार्थी कार्यकर्ताको नाताले सम्मेलनमा सहभागी भएको थिएँ । हाम्रा नेता थिए, विनोद गुरुङ । बन्द सत्रभित्र कुनै एक अनौठो विषयले प्रवेश पाउने सनसनाहटको गर्मीले सम्मेलन हल तातिने सम्भावना थियो । हामीले विनोदजीमार्फत् त्यो सङ्केत पाएका थियौँ ।
घनश्याम भुसाललाई अध्यक्ष हुनबाट रोक्न मदन भण्डारीले शङ्कर पोखरेललाई उभ्याउँदै गरेका र उनलाई टक्कर दिन सीपी मैनालीले रविन कोइरालालाई अघि सार्दै गरेको चर्चा चलिरहेको बेला विनोदजीमार्फत् हामीलाई खुसुक्क आएको सङ्केत थियो, बन्द सत्रमा खोटाङका रमेश राईमार्फत् केही महत्त्वपूर्ण आवाज उठ्नेवाला छ । त्यसको समर्थनका लागि तयार हुन विनोदजीको निर्देशन थियो । त्यसो त हाम्रो टीममा विनोदजीको निर्देशनलाई नजरअन्दाज गर्ने पनि थिए एकदुई जना ।
बन्द सत्रमा आँधीअघिको सन्नाटाजस्तो पनि भइरहेको थियो, एक ढङ्गले । आआफ्नो तयारीमा जुटेका थिए, संस्थापन पक्ष र संस्थापन इतर ।


तत्कालिन राजनीतिक विभाजनअनुसार अञ्चलको ब्यवस्थाअनुसार कोशी अञ्चलअन्तर्गतका हामी धनकुटाका प्रतिनिधिहरू सुनसरीका प्रतिनिधिहरूभन्दा अघिल्लो लहरमा बसेका थियौँ । सुनसरीका नेताका रुपमा मनोज मेयाङ्बो जल्दाबल्दा र आशा भरोसाका केन्द्रजस्तै देखिन्थे; उताकाहरूले पनि आशा गर्ने, यताकाहरूले पनि आशा गर्ने !
आँधीअघिको सन्नाटाजस्तै त्यो अवस्थामा मनोज मेयाङ्बोसँग सल्लाह गर्न एकजना आए । आँखा चिम्सा र घोप्टे जुँगा भएका । उनी धमाधम लिम्बू भाषाबाट मेयाङ्बोलाई सक्दो सम्झाइरहेका थिए । उनले बोलेको सबै त बुझिनँ, तर के भन्न खोजेको भन्ने चाहिँ लवजले बुझेँ । मेयाङ्बो चाहिँ एकै शब्द ननिकाली टाउको मात्रै हल्लाइरहेका थिए । टाउको हल्लाई पूर्ण स्वीकृतिजस्तो पनि थिएन, अस्वीकृतिजस्तो पनि लाग्दैनथ्यो ।
१०/१५ मिनेट जति सम्झाइसकेपछि ती लिम्बूभाषी आफूलाई तोकिएको स्थानतिर गए । उनी हिँडेको केही मिनेटकै अन्तरालमा शङ्कर पोखरेल आइपुगे, उनै मेयाङ्बोलाई भेट्न । उनले विनम्रतापूर्वक सम्झाउँदै गए । उनले बोलेको चाहिँ मैले प्रष्टै बुझेँ । भन्दै थिए,“सङ्गठनको हितमा लागौँ, भविष्यमा तपाईँको उचित मूल्याङ्कन गरिनेछ ।”
शङ्करले सम्झाएपछि के सम्झेर हो कुन्नि मेयाङ्बोले आफ्नै लागि निन्द्रालाई निम्तो दिए । उनी उँघ्न थाले । दुवै हात अगाडीको सीटमा अड्याएर बन्द सत्रभरि उँघिरहे ।
बन्द सत्रमा ब्यापक हो हल्ला भयो । खोटाङका रमेश राईले आफूले बोल्न पाउनुपर्ने माग गरे । बोल्न दिन हुँदैन भन्ने पक्षको पनि चर्कै आवाज थियो । बोल्न पाउनुपर्छ भनेर सुनसरीका साथीहरू किसन राई, कुलचन्द्र राई र विजय लिम्बूहरू बुरुक्क बुरुक्क उफ्रिरहँदा मुरारी सुवेदी र बेणु काफ्लेहरू बडो अप्ठ्यारो मान्दै मौनता साँधिरहेका थिए भने मेयाङ्बो चाहिँ उसैगरी अगाडीको सिटमा दुई हात बाँधी अड्याएर पहिलेजस्तै उँघिरहेकै थिए ।
अन्ततः रमेश राईले आफ्नो कुरा राख्न पाए । उनले राखेको कुरा थियो, नेपालको जातीय र भाषिक विविधता र यससम्बन्धी समस्यालाई हेर्ने सङ्गठनको दृष्टिकोण चाहिँ के हो ?
तर बोल्दा उग्रतापूर्ण प्रस्तुति भएको आरोप खेप्न प¥यो उनले । ठूलै हुटिङ भयो । उनलाई पुरै कुरा राख्न दिइनुपर्ने पक्षका हामी पनि उफ्रिरहेका थियौँ । पछाडीतिरबाट झन् जोड जोडले रमेशको पक्षमा उफ्रिदै थिए, उनै आँखा चिम्सा, घोप्टे जुँगाभएका लिम्बूभाषी । तर रमेशले आफ्नो भनाई पुरा राख्नै नपाई मञ्च छाड्न प¥यो ।
ती पछाडीबाट जोड जोडले उफ्रने लिम्बूभाषीलाई अलि नजिक गएर हेर्ने मन भयो । उनी असाध्यै परिपक्व नेता लाग्थे । म त विल्कुलै नयाँ कार्यकर्ता, भर्खरै रिक्रुटिङमा परेको । बागमतिका प्रतिनिधिहरूलाई छुट्याइएको ठाउँमा पुगी उनको छेउ परेर मैले उनको सर्टमा खिलिएको प्रतिनिधिको ब्याचमा हेरेँ । त्यहाँ अङ्ग्रेजी वर्णमालामा लेखिएको थियो टीयू ।
सम्झनाको पोखरीमा यतिसम्म बल्छी खेलिसकेपछि भर्खरै हलबाहिर ख्याक ख्याक खोक्दै गरेको त्यो मान्छेको बारेमा “होइन त्यो मान्छे को पो हौ” भनेर सोध्दा टेकरत्न चेम्जोङले “टीयुको गोल्डमेडलिस्ट” भन्नु र पोखराको हलमा उफ्रीउफ्री कराउँदै गरेको मान्छेको सर्टको खिलिएको ब्याचमा “टीयु” लेखिएको सम्झना आयो । आखिर एक वर्षअघि मात्रै पोखराको विद्यार्थी सङ्गठनको सम्मेलनमा उफ्रीउफ्री कराउने उनै ब्यक्तिलाई धरानमा चुम्लुङको समयमा चिसोले समाएर ख्याक ख्याक खोक्दै गरेको अवस्थामा भेटेको एउटै ब्यक्ति रहेछन्, बालकृष्ण माबुहाङ । एक वर्षमा उनी रुपान्तरित भएका रहेछन्, विद्यार्थी नेताबाट आदिवासीवादी अधिकारकर्मीको नेताका रुपमा । त्रिभुवन विश्वविद्यालयमा उनले प्राध्यापन पनि सुरु गरिसकेका रहेछन् ।


पहिलो लिम्बू समाचारवाचक
त्योबेला मैले जिविकोपार्जनका लागि पत्रकारिता क्षेत्रमा पाइला हालिसकेको थिएँ । पत्रकारितामा अलि फराकिलो ठाउँ खोज्दै धनकुटाबाट धरान झरेर त्यहाँको गल्ली चाहर्न थालेको थिएँ ।
एक दिन एकाविहानै भानुचोकमा गणेश इजमसँग भेट भयो, काठमाडौँबाट रात्रीबस चढेर आएका रहेछन् । त्यताबाट आउँदा उनले टेलिभिजन सेट पनि लिएर आएका थिए । बसबाट उनको त्यो सामान ओराल्न मैले पनि सघाएँ । हामी दुवैजना एकछिन दिदी कुन्ता योञ्जनको पसलमा अडियौँ, नजिकै रेडियो नेपाल बजिरहेको थियो । इजमको ध्यान चाहिँ रेडियोको आवाजतिर केन्द्रीत थियो । रेडियोमा तत्कालै सूचना बज्यो, लिम्बू भाषामा समाचारवाचनका लागि सफल उम्मेदवारहरूको नाम । गणेश इजमको नाम चाहिँ वैकल्पिकमा परेछ । उनको नाम सुनेपछि उनलाई एकैछिन वाल्ल परेर हेरेँ, गीत र संगीतमा मात्रै उनको प्रतिभाको परख गर्न थालेको थिएँ, उनी त भाषासेवामा पनि उत्तिकै दख्खल राख्दा रहेछन् ।
२०५१ सालको कुरा । रेडियो नेपालबाट विभिन्न भाषामा समाचार बज्ने भयो । पहिलोपटक लिम्बू भाषामा समाचार प्रशारण हुँदै थियो । त्योबेला म धरानबाट धनकुटा उक्लेको थिएँ । बजारको कुनै एक पसलअगाडी उभिएर त्यहाँ बजिरहेको रेडियो नेपालको आवाजलाई कान थापेर पर्खिरहेँ । समाचारको सिग्नेचर धुन बजिसकेपछि वाचकले समाचार वाचन गर्न थाले,“…बालकृष्ण माबुहाङलाम् इङ्घङ् खेप्सेमो…” ।
यसरी माबुहाङले रेडियो नेपालका पहिलो लिम्बू भाषाका समाचारवाचकको इतिहास पनि रचना गरेका छन् ।
लिम्बू भाषाको यो स्वर सुनेपछि पोखराको दीपेन्द्र सभागृहको हलभित्र लिम्बू भाषामा मनोज मेयाङ्बोलाई लिम्बू भाषामै साह«ै सम्झाइबुझाई गरेको सम्झना फेरि दोहोरिएर आयो । तर उनको त्यो सम्झाइबुझाईलाई एकैछिनमा शङ्कर पोखरेल आएर गरेको सम्झाई बुझाईले निस्तेज पारिहाल्यो । सम्मेलनअवधिभर मेयाङ्वोलाई उँघेरै मौन बस्ने बनायो ।
२०४८ सालको सम्मेलनपछि नै बालकृष्णले पञ्चायतकालभर ज्यानकै खतरा मोलेर पसिना बगाएको सङ्गठनलाई सराप्न थालिहाले । मेयाङ्बो चाहिँ त्यो सम्मेलनलगात्तै धरानको मेयरको दाबेदार बनेर निस्के, तर उपमेयरमा चित्त बुझाए । पछि मेयर नै भए । संविधान सभामा उठेका थिए, हारे । लामै समय निस्क्रिय बसेर फेरि पार्टीमा फर्के । फेरि मेयरमा चाहना राखे । उनलाई धरान उपमहानगरको मेयर भएको देख्ने चाहनाले उनको पक्षमा मैले पनि एउटा लेख लेखेर सघाइटोपलेको थिएँ । तर उनले टिकट पाएनन्, चुनावले धरानमा हर्क साङपाङको उदय गरायो । उनी अहिले भाइरल भइरहेको कुरा मैले यहाँ बताइरहनै पर्दैन ।
अशोक राईलाई पार्टीले समर्थन गरेपछि उनी एकाएक विद्रोही बनेर निस्के, धरानको विकासको गति कछुवाको चाल जस्तो हुनु हुँदैन भन्दै खरायो चिन्ह बोकेर चुनावमा होमिए । भानुचोकमा आयोजना गरिएको कार्यक्रममा अब एमालेमा कहिल्यै नफर्कने कसम पनि खाए । चुनावमा भने असिन पसिन हुँदै अशोक राईले नै बाजी मारे । आफू हारे पनि मनोजले अशोकको पसिना कढाए ।
राजनीतिको खेल पनि अचम्म हुँदोरहेछ । उनलाई सम्झाएर उँघ्ने बनाउने शङ्कर पोखरेलको यतिखेर पार्टीमा जगजगी छ ।


बाटोमा भेट्दा श्रद्धाले नतमस्तक
जिविकोपार्जनलाई अलि ब्यवस्थित पनि बनाऊँ, अपुरो रहेको पढाईलाई पुरा गरुँ र अलि जमेरै पत्रकारिता गरुँ भन्ने सोचले २०५८ सालदेखि मैले काठमाडौँमा डेरा हालेँ । राजधानी सहरको त्यो ठेलमठेल र चिसो अङ्गालोभित्र मलाई न्यानो काखको तातो माया दिने न मेरा काका थिए न मामा । थियो त आफैभित्र उत्पन्न ऊर्जा र आत्मविश्वास । मैले सम्भावित जोखिमहरू मोलेरै काठमाडौँमा डेरा खोजेको थिएँ ।
अब मेरो काठमाडौँको गल्ली नाप्ने क्रम सुरु भएको थियो । जागिर पनि खोज्दै थिएँ । एकदिन भद्रकालीनेर सडकमा उनै माबुहाङलाई एक्लै हिँड्दै गरेको देखेँ । उनैले कोरेको आदिवासीवादी वैचारिक गोरेटोको डोरो पछ्याउन सुरु गरिसकेको मेरो लागि त उनी चीरपरिचित छँदै थिए, तर उनको लागि म पूर्णरुपमा अपरिचित । म उनको छेउमा पुगेँ र जम्लाहात गरेँ, “नमस्कार !”
सुनको दाँत टिलिक्क टल्काउँदै उनले मुस्कानसाथ नमस्कार फर्काए । नचिने पनि चीर परिचितझैँ गरेर बोले,“के छ खबर ? सञ्चै हुनुहुन्छ ?”
त्यो भेटमा उनको बोली विल्कुलै थोरै थियो, तर त्यहीँ थोरै बोलीमा मैले धेरै आत्मीयता अनुभूत गरेँ । यसरी बाटोमा भेट्दा पनि किन किन म उनीप्रति श्रद्धाले नतमस्तक भएँ ।
काठमाडौँमा रहँदा बस्दा म एक पत्रकार थिएँ, उनी आदिवासी अधिकारकर्मी बौद्धिक नेता । अधिकारको लागि एक्लै भए पनि लडन्त भिडन्तमा उत्रन तम्तयार उत्पातैको दुस्साहसी ।
तत्कालिन नेपाल जनजाति महासंघका महासचिव थिए उनी । अध्यक्षीय प्रणालीमा गइनसकेको महासंघमा महासचिव नै मुख्य हर्ताकर्ता हुन्थे । मेरो र उनको कार्यालय अनामनगरमै भएकोले उनीसँगको भेटघाट नियमित थियो । उनीबाट आदिवासी आन्दोलनको बारेमा अनौपचारिक शिक्षा ग्रहण गरिरहेको थिएँ ।
तत्कालिन जनजाति विकास समिति (पछि आदिवासी उत्थान प्रतिष्ठान)का अधिकृत राम मादेन जनजाति महासंघमा गएर त्यहाँको हिसाव कितावको रेखदेख गरिरहेको देख्थेँ । “तपाईँ यहाँको पनि कर्मचारी हो ?” यस्तो सोध्दा मादेनले भने,“मैले त सघाउपघाउ गरेको मात्रै पो हो । एउटा लिम्बूको छोरा महासंघको महासचिव छन्, नाकको चालले पनि सघाउनै प¥यो नि !”
मादेनजीको यो भनाई मेरो लागि प्रेरक भयो । मैले पनि उनी महासंघको नेतृत्त्वमा रहँदा सक्दो सघाउने प्रयास गरेँ । मेरो प्रयास सफल भयो कि भएन त्यो चाहिँ मलाई थाहापत्तो छैन ।


प्रेरणाको स्रोत
लेखनमार्फत् सिमान्तकृतहरूको पक्षपोषण मेरो समकालन अभिष्ट बनेको छ । त्यसमा पनि मेरो रोजाई परेको छ, इतिहासको क्षेत्र । हिजो लुकाउन र दबाउन खोजिएको इतिहासका अभिलेखहरूको खोजी, विश्लेषण र प्रस्तुतिलाई इमान्दारितापूर्वक साधनाको क्षेत्र बनाउँदा यहाँ शोषक र अभिजात्य वर्गका पूजारीहरूका लागि राम्रैसँग पोल्ने आँखाको कसिङ्गर बन्ने सफलता पाउँदै गएको छु । सन्त कविर भन्छन्,“खुट्टाको धुलोलाई पनि तिमी निन्दा नगर, त्यो तिम्रो आँखामा प¥यो भने तिम्रो लागि त्यो महङ्गो सावित हुनेछ ।”
इतिहासको क्षेत्रमा पसी टोपल्दैछु, गर्नुपर्ने ठाउँ त कति रहेछ कति ! मुन्धुम शिरोमणि वैरागी काइँलाको प्रेरणाप्रद निर्देशनबाट संशोधन मण्डलको समीपमा पुगेर उनीहरूको कर्म र मूल्यलाई गुरु थापी एकलब्य अभ्यासमा इतिहासको खोजी गर्दा अप्रमाणिक विषयलाई छुँदै नछुने, कसैले गलत लेखे निर्भिकतापूर्वक प्रमाणप्रमेय त्यसको संशोधन गर्ने र यथासम्भव नयाँ खोजी गरी प्रकाशमा ल्याउने ऊर्जाभरा यात्रामा निस्केको छु । यस्तो यात्राको यो यात्रीलाई माबुहाङ सरबाट होस्टेमा हैँसे मिलेकै छ ।
सिमान्तकृतको आवाज लेख्ने लेखकका पीडाहरू भने कहिनसक्नु छ । सिमान्तकृत र त्यसमा पनि आदिवासीहरूको कितावसँगको साइनो गोरुबेचे बराबरजस्तो लाग्छ । लेखकको किताव छापिदिने वा पढिदिने कष्ट उठाउन उनीहरूका लागि साह्रै मुस्किल छ । आमोद प्रमोदमा पैसाको खोलो बग्छ, किताबको लागि दुई रुपैयाँ निस्कदैन । किताव बिना विचारशुन्यता हुन्छ । विचारशुन्य आन्दोलनको गति कस्तो होला ?
किताब बेचिदिने अनि लेखकश्वको हिसाब दुरुस्त राखिदिनेहरूको अभाव छ , पुरस्कार र प्रोत्साहन त कल्पनातीत भए । त्योभन्दा ठूलो दुःख हो, जसका लागि लेखियो, उसैले पढ्न चासो नदिने । किताब किनेर कृपा गरे हाले पनि त्यसका पानाहरू नपल्टाइदिने । किताब साधनाको साधन हो, सुशोभनको वस्तु होइन ।
पूर्वाग्रहहरूले कतिसम्म सताउँछ भने हामीले किताब लेखे विदेशीबाट डलर खाएको आरोप लाग्छ । तर यस्तो आरोपहरूबाट मेरो मन चाहिँ किञ्चित पनि विचलनमा पर्दैन, किनकि ममाथि बालकृष्ण माबुहाङहरूको आत्मीय ढाडस छ ।
बालकृष्ण माबुहाङ, अर्थात एक ज्याद्रो मान्छे !




