याद गर्नुस् महोदय
कविता तरुनीसँग गरिने ठट्टा होइन
कविता केटाकेटीमा खेलिने गट्टा होइन…
बडो जोडदारले यी हरफहरू वाचन गरेर दर्शकदीर्घाको ध्यान आफूतिर खिच्थे ती कवि । यी हरफका असली स्रष्टा चाहिँ कवि विप्लव ढकालका हुन्, उनैबाट सापटी लिएर उनी वाचन गरिरहेका हुन्थे । यी हरफबाट दर्शकदीर्घाको ध्यान आफूतिर सोहरपटार गरिसकेपछि उनी आफ्नो कविता वाचन गर्न थाल्थे । उनको कविता सुन्दा लाग्थ्यो; कविताबाट शब्द होइन, ताता ताता गोलीका पर्राहरू निस्किरहेछन् ।
प्रतिक र विम्व विधान त छँदैछ, विचारलाई कलाले मथ्नुसम्म मथेर वाचन शैलीलाई पनि प्रभावमय बनाइसकेपछि हामी दर्शकदीर्घामा रहेकाहरू उनको कवितासँग कहिले भावुक बनेर भावनामा बग्थ्यौँ, कहिले उत्तेजित हुँदै आफू बसेकै सीटबाट जुरुक्कै उठ्न खोज्थ्यौँ । वाह, यस्तो पो कविता !
यसअघि मैले २०४४ सालमा धनकुटामा कवि बम देवानको कविता “समय” र २०५० सालमा इटहरीमा आहुतीको कविता “तपस्वीका गीतहरू” सुन्दा यस्तै अनुभूतिका सङ्गालोले तरङ्गित हुने अवसर पाएको थिएँ । २०५१÷५२ सालतिर आइपुग्दा मैले उस्तै कोटीका नवयुवक कवि नरेश काङमाङ राईलाई पाएको थिएँ । उनलाई भेट्दा लाग्थ्यो, चिम्सा आँखा र थेप्चो नाक भएको जातीय समूहबाट कलमको हलो जोत्ने एक जना शक्तिशाली कवि उदयोन्मुख अवस्थामा छ, जसले मष्तिष्कका तन्तुहरू भविष्यमा मज्जाले हल्लाउनेछ ।
त्यसबेला म पत्रकारिताको रहरलाई पेशामा परिणत गर्ने सपनाले हुटहुटिएर अलि ठूलो आकास खोज्दै धनकुटाबाट धरान झरेको थिएँ । महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा एउटा विद्यार्थीको रुपमा नाम पनि लेखाएको थिएँ । त्यहीँ साइनोले कलेज परिसर टेकिन्थ्यो, बेलाबेलामा । कलेजमा आयोजना हुने कविता गोष्ठीहरूमा मेरो पनि उपस्थिति रहन्थ्यो, तर कविको रुपमा नभई एउटा पत्रकारको रुपमा । कुनै बेला एउटा राम्रै कवि बनूँला भन्ने मेरो महात्वाकाङ्क्षी कवित्त्वलाई भने पत्रकारिताले करीब करीब धुलिसात बनाइसकेको थियो । त्यो बेलासम्ममा त कवितासँगको मेरो साइनो एकप्रकारले “हिङ बाँधेको टालो” मा परिणत भइसकेको थियो भन्दा पनि हुन्छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा आयोजना हुने कविता गोष्ठीमा जस वेखर्ची, प्रतिमा विवस राई, गीता संतापहरूको नियमित सहभागिता रहने गरेको सदावहार सम्झना आज तीन दशकपछि पनि उस्तै छ मसँग । सम्झना पनि एउटा गजबको सम्पति रहेछ, जो बाँड्न पाउँदा पनि अचक्ली आनन्द आउने । भोजपुरबाट कलेज पढ्न धरान झरेका कवि नरेश काङमाङ राईले त्यो बेला बनाएको आफ्नो स्पेश भने अलि बेग्लै किसिमका लाग्थ्यो मलाई । प्रतिस्पर्धाहरूमा उनी प्रायः अग्रस्थानमा रहन्थे ।
धरानको कविता गोष्ठीहरूको माहौललाई उष्ण बनाइरहेका ती होनहार कवि नरेश काङमाङ राई एकाएक गायव भए । उनको अनुपस्थिति मेरो मनको एउटा कुनामा सानोतिनो सन्नाटा बनेर बसिरहेको थियो । म उनलाई मीस गर्थेँ । हामी आफैले एउटा अखबार चलाइरहेका थियौँ, त्यसबेला । ती होनहार नवयुवक कविको कविता छाप्न नपाएकोमा हामीलाई ठूलै थकथकी थियो । किनकी अहिलेजस्तो सञ्चारसाधनको सुविस्ता थिएन, उनी सम्पर्कविहीन थिए हामीबाट ।
पछि पो थाहा भयो, कवितालाई तरुनीसँगको ठट्टा र केटाकेटीले खेल्ने गट्टा नसम्झन हाँक दिने यी कवि त कलमको सट््टा बन्दुक र कविताको सट्टा गोलीगठ्ठा बोक्ने सैनिक पो बनेछन्, त्यो पनि विदेशी पल्टनमा ।
म आफै पनि विश्वयुद्ध लड्ने लाहुरेको छोरा, तर लाहुरभर्तीबारे कहिल्यै नसोचेको मान्छे । सम्झनाका छायाँहरूमा उनलाई खोज्दै जाँदा उनको तस्बिर यस्तो देख्थेँ, आयो गोरखाली चार्ज !
लाहुरः बाध्यता र संस्कृति
यतिखेर मेरो हातमा उनै कवि काङमाङले लेखेको ऐतिहासिक अध्ययन “पानी पतिया” छ । यो पुस्तकका पानाहरूमा आँखा दौडाइरहेको बेला लेखक वसन्त थापा दाईले पोर्तुगलको लिस्वनमा बोलेको कुराको पनि झल्झली सम्झना आइरहेछ । दुई वर्षअघि उनी पोर्तुगल घुम्न आउँदा मानवशास्त्री डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र पनि पोर्तुगलमा रहेका हामीहरूले हेर्ने चाहना ग¥यौँ । वृत्तचित्र हेरिसकेपछि उनलाई केही बोल्न आग्रह गरियो । उनले धक फुकाएरै भने,“आदिवासी जनजातिहरू लोकसेवा भिड्नुको सट्टा लाहुर भर्ती जानमै जोड गर्छन्, अनि उनीहरूको विकास कहाँबाट हुन्छ ?”
के नेपाली आदिवासी युवाहरू रहरले लाहुरभर्ती गएका हुन् ? लाहुरभर्तीबारे अब पनि पुरानै पाराले यसरी विश्लेषण गरेर हुन्छ ?
नेपालका आदिवासी युवाहरूलाई दशैँको खसीबोकासरह छानी छानी कसले जबरजस्ती लाहुर पठाउन सुरु ग¥यो ? यसबारे थाहा पाउन समाजका तालुकदार मुखिया जिम्मावालहरूको नाममा पहिलो विश्वयुद्धको विभिषिका दन्केको समय तत्कालिन निरङ्कुश शासक चन्द्रशमशेरले वि.सं. १९७२ असोज २२ गते शुक्रबार जारी धम्कीयुक्त सनद पढे हुन्छ । त्यसबाट लाहुरभर्तीसम्बन्धी इतिहासको वास्तविक तस्बिर हामीसम्मुख छर्लङ्ग हुन्छ ।
कवि नरेश काङमाङ राईले पनि त्यहीँ गोरखाभर्तीको लाइनमा आफूलाई मिसाए । तत्कालिन इष्ट इण्डिया कम्पनीको चाकरीका लागि राज्यले जबरजस्ती सुरु गरिदिएको गोरखाभर्ती सुरुमा बाध्यता र पछि संस्कृति बन्न पुग्यो । लाहुर भर्तीको डिपो खोलिएपछि नेपालको एउटा सिंगो समुदायमा त्यसको कस्तो असर प¥यो ? यसबारे थाहा पाउन उनै नरेश काङमाङ राईले लेखेको “पानी पतिया” पढे साह्रै अच्छा हुनेछ ।
अर्काका लागि ज्यानलाई हत्केलामा राखेर युद्धको विभिषिकामा होमिएका लाहुरेहरू साँच्चिकै पर्सिएर बलि दिन ठीक्क पारिएका बोकाजस्तै लाग्छन्, इतिहासका पानाहरू पल्टाउँदा । कतिसम्म भने राज्यले जिम्मावाल मुखियाहरूलाई कहिले लोभ देखाउँदै कहिले धम्क्याउँदै गाउँ गाउँबाट युवाहरूलाई छानी छानी लाहुर पठाइयो । पछि घर फर्कदा उनीहरू अछुत बन्न पुग्छन् । त्यसैले उनीहरूले प्रायश्चित गर्नुपर्ने हुन्छ । पानी पतिया लिएपछि मात्रै उनीहरू चोखो ठहर हुन्थे । यस्तै क्रमले नेपालका आदिवासी युवाहरूलाई लाहुर भर्ती पठाएर उनीहरूको ज्यान हत्केलामा मात्रै परेन एउटा सिंगो समुदाय सांस्कृतिक संहारमा प¥यो । यहीँ विषयको ऐतिहासिक उठान नै नरेश काङमाङ राईको पुस्तक “पानी पतिया”को मूल ध्येय हो । इतिहासका यस्ता पानाहरूको जोहो गर्न उनले ठूलै बुद्धि र पसिनाको खोलो बगाएको तथ्य पुस्तकको कुना काप्चा चियाउँदा राम्रैसँग पत्तो पाइन्छ ।
त्यसैले नेपालका आदिवासीहरूको लाहुरभर्तीसँगको सम्बन्धका बारेमा टिप्पणी गर्नुअघि यो कितावलाई अद्योपान्त छिचोल्नै पर्छ । बुढापाकाहरू भन्छन्,“बस्न पाए थ्याच्च नबस्नू, बोल्न पाए प्याच्च नबोल्नू ।”
अनुभवसिद्ध लेखक
लाहुर भर्ती गएपछि बोटमा फलेको फलझैँ पैसा टिप्न मिल्छ जस्तो गरी सोच्नेहरू धेरै छन् हाम्रो नेपालमा । उसै त विरानो देश, पराईको आदेशले लेफ्ट–राइट गर्नुपर्ने, उनीहरूकै आदेशमा अटेन्सनमा रहनुपर्ने । स्वदेशमा रस्ती रसाउने र बस्ती बसाउने भूमीपुत्रहरूलाई भाडाको सिपाही बनाएर रोयल्टी असुल्ने एउटा अभिसप्त मूलुकको नाम हो नेपाल । ब्रिटिश गोरखाली सेना बनेर लेफ्ट–राइट र अटेन्सनमा रहनुपर्ने नियमको पालना गर्दै जाँदा नरेश काङमाङ राई लाहुर गएको १० महिनामै प्याराजम्पको तालिमको क्रममा नराम्ररी घाइते भएछन् । निक्कैपछि काठमाडौँको साहित्यिक डबलीमा भेट्दा उनी लौरोको साहारा बिना हिड्न असमर्थ भएर बिरामी पेन्सनमा निस्केछन् । देख्नेहरूले उनले दुःखले धरानमा बनाएको पक्कीघर देख्लान्, उनले चढ्ने गरेको कार देख्लान्, थोरबहुत बैंक ब्यालेन्स वा उनले थाप्ने गरेको पेन्सनबारे पनि सोच्लान्, तर देख्नेहरूले उनले २५ वर्षदेखि भोग्दै आएको घाउचोटको पीडा र त्यसले बेला बेलामा उथलपुथल मच्चाउने मनोविज्ञान देख्लान्् ? एक साताअघि मात्र मैले सञ्चोविसञ्चो सोध्दा उनी भन्दै थिए,“दाजु, एकातिर वयोवृद्ध विरामी बुवालाई गाउँमा छाडेर युके आइपुगेको छु, अक्टोबर १६ सम्ममा मेरै आठ वटा अस्पतालमा अपोइन्टमेन्ट छ ।”
वास्तवमा कतिपय पीडाहरू पनि शक्ति र साधनाको स्रोत बन्छन् । यस्तै पीडाको पोखरीमा डुबुल्की मार्न नपरेको हुँदो हो त नरेशका “पानी पतिया” र “खुकुरीको धारमा” जस्ता गोरखा लाहुरेहरू विषयक उत्कृष्ट कृतिहरूको प्रकाशन सायद नहुँदो हो । “युद्ध साहित्य” नामको वैचारिक र दार्शनिक चिन्तनको पनि जन्म हुने थिएन सायद । संवेदनशील कवि त छँदै थिए उनी, समय र अनुभवको परिस्कारले उनलाई एउटा चिन्तक पनि बनायो अनि एउटा इतिहास अन्वेषक ।
लाहुरेको वास्तविक इतिहास खोतल्ने अनुभवसिद्ध लेखकको रुपमा हामीले नरेश काङमाङ राईलाई पायौँ । समयले विरलै मात्रै जन्माउँछ, यस्ता प्रतिभा ।
युद्ध साहित्य चिन्तन
घटना सुन्नुभन्दा देख्नु धेरै अनुभूतिजन्य हुन्छ । अझ घटना भोग्नु त कता हो कता अनुभूतिजन्य हुन्छ । पञ्चायती अध्यारो चिर्ने क्रममा जागरणको जुनकिरी बनेर उनका ठूलाबाका छोरा अजम्बर काङमाङ र उनका साथीहरूले गाउँमा गोकुल जोशीका शब्दहरू “नजाऊ अङ्ग्रेजी पल्टनमा नमार गरीबलाई”, अनि “जान्नँ म त नि गोरखा भर्ती मलाया छाउनीमा पापी मरे कुइरेको देशैमा” पक्कै पनि गाएकै थिए । त्यसको केही न केही प्रभाव नरेशमा पक्कै पनि परेकै थियो । तर आदर्शले मात्र चुल्होमा आगो नबल्दोरहेछ । यो कुरा बेलैमा बुझे नरेशले ।
राज्य निकम्मा भएपछि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आए पनि केही हुन सकेकै छैन । कहिले शाह राजाहरूको पालो, कहिले राणाजीहरूको पालो अनि कहिले थापाकाजीहरूको पालो । आफू सत्तामा रहदा यी अधिनायकहरूले देशको मेरुदण्ड ठनक्क पारेकै थिए, नयाँ शासकहरू पनि उनीहरूकै अनुयायी भइदिदा कलमको हलो जोतेर कविता क्रान्ति गर्ने सपना बोकेका युवा नरेश काङमाङ राईजस्ता युवाहरू भाडाको सिपाहीको रुपमा लाहुरभर्ती भिड्न अभिसप्त छन् । उनको मात्रै के कुरा म आफै पनि एक दशकदेखि प्रवासी जीवनको कहर काटिरहेछु । हामीहरू त गोपाल योञ्जनले गाएको गीतको पात्रजस्तै रहेछौँ, आफ्नै गाउँको पाखे अनि दोबाटोको लाखे ।
तर हामीले लेख्ने आँट र उत्साहलाई मर्न दिएका छैनौँ । त्यसमा पनि नरेश काङमाङ राईको लाहुरे भोगाई कता हो कता जीवन्त छ । यस्तो जीवन्त भोगाईको फलकमा आफ्ना अनुभूतिहरूलाई सैद्धान्तिकरण गर्दै उनी गणेश राई र अप्जसे कान्छाका साथ चिन्तनको चौतारीमा विमर्श गर्दै गरेको भेटिन्छन् । यसै विमर्शको उपज हो, युद्ध साहित्य । यो चिन्तनमा आधारित भएर उनीहरू युद्ध साहित्य लेखनमा डटिरहेछन्, खटिरहेछन् युद्धस्तरमा । यो एउटा समालोचनाको नविनतम सिद्धान्त पनि हुनसक्छ, स्वयम् ब्रिटिश गोरखा सैनिकहरूबाट आएको दार्शनिक सम्पतिको रुपमा ।
तर यहाँ थेप्चा नाक र चिम्सा आँखाहरूबाट आएको दर्शनलाई दार्शनिक मान्यता प्राप्त हुँदैन । यहाँ अरुण र तमोरको प्रवाहलाई होइन, बागमति र विष्णुमतिको हरक आउने प्रवाहलाई मूलप्रवाह मानिन्छ । त्यसैले नरेश काङमाङ राईहरूले ल्याएको युद्ध साहित्य यतिखेर कर्नरमा परेको छ ।
नरेश काङमाङ राई नेपाल आइरहन्छन्, वर्षेनि । मखमली चोलो र सुनको फूल होइन, उनले ल्याउने कोसेली हुन्छ, युद्ध कविताहरू । लाहुरेको मानक फेरिएको छ । “आयो लाहुरे बुटजुत्ता कसेर, गयो लाहुरे खरानी धसेर” बोलको गीतको जमाना होइन यो । आजभोली त लाहुरेहरू ठेलीका ठेली कविता बोकेर आउँछन्, र राम्रा राम्रा किताब बोकेर जान्छन् ।
तपाईँहरू आजका लाहुरेहरूलाई के ठान्नुहुन्छ ?
पल्टनघरभित्रै लेखनको दुस्साहसी नयाँ परम्परा सुरु गर्ने लाहुरेमध्येका एक हुन्, नरेश काङमाङ राई । उनले लेख्ने साहित्य यथार्थमा मात्रै होइन, अनुभवमा पनि आधारित छ । बालकृष्ण समले लेखेजस्तो ऐसलुको बोटमा पिङ खेल्ने वा तारानाथ शर्माले लेखेजस्तो तुम्लिङटारमा हिउँ पर्ने साहित्य होइन, उनले लेख्ने गरेको युद्ध साहित्य । शर्माले आफ्नो चर्चित नियात्रा “घनघस्याको उकालो”मा समुद्र सतहबाट ५२८ मिटर मात्र उचाई रहेको तुम्लिङटारमा हिउँ परेको सम्झना लेखेर राम्रैसँग जग हँसाएका छन् । तर उनकै यो नियात्रा विद्यालयदेखि विश्वविद्यालयसम्म पढाई हुन्छ ।
पहिचान पक्षधरता
नरेश काङमाङ राई शारीरिक रुपमा विरामी छन् । तर उनी मानसिक रुपमा साह्रै सबल लाग्छन् । नेपाली राजनीतिको केस्राकेस्रा केलाएर उनी यसको मसिनो ढङ्गले विश्लेषण गर्न सक्छन् । देशमा मखमली र सयपत्रीलाई मात्र होइन, बेली र चमेलीहरूलाई पनि फुल्न फक्रन दिइनुपर्छ भन्ने पहिचान पक्षधर चिन्तकका रुपमा पनि उनले आफूलाई अब्बल सावित गर्दै आइरहेका छन् । आफ्नो चिन्तनको प्रयोग बोलेर होइन गरेर देखाइरहेका छन्, उनी । परिणाममा हरेक वर्ष एउटा (कहिलेकाहिँ संयुक्त रुपमा दुई वटा) पहिचान पक्षधरतामा लेखिएका पुस्तकलाई नेपालकै ठूलो पुरस्कार राशीको पुरस्कार “पहिचान पुरस्कार” समर्पण गरिन्छ । यो पुरस्कार कोषको नेतृत्त्व गर्दै आइरहेका छन् उनी । यसबाट सिमान्तकृतहरूको विषयमा लेख्ने लेखकहरूले ठूलै आड भरोसाको राहत अनुभव गरिरहेका छन् ।
यो पुरस्कारको स्थापनाबाट उनी हरक आउने बागमति र विष्णुमतिलाई देशको मूलप्रवाह मान्न तयार छैनन् भन्ने प्रमाण पनि मिलेको छ समाजलाई ।
गौतम बुद्धको महापरिनिर्वाणको समय आइरहेको बेला आत्तिएका भिक्षु आनन्दले बुद्धलाई सोधे,“तपाईँ हाम्रो दिपक हुनुहुुन्थ्यो, हामीलाई छाडेर जाँदै हुनुहुन्छ । अब हामीले के गर्ने तथागत ?”
“अप्पो दीपो भवः”, गौतम बुद्धले भने । अर्थात् कसैको भर नपर, आफ्नो दीपक आफै बन ।
लाहुरेहरूको विषय लेख्न, उनीहरूको लुकेको वा लुकाइएको इतिहास खोतल्न नरेशले कसैलाई पर्खेनन्, आफैले सुरसार कसे । उपेक्षित अवस्थामा रहेको सिमान्तकृतहरूको पहिचान पक्षधर लेखनलाई ओइलाएर पहेँलिन नदिन पुरस्कारले सिँचाई गरे ।
एक बारको जिन्दगीमा यति बाहेक अरु के गर्नु ?