सुन्दर नगरी भनेर चिनिन्छ धरान सहरलाई । पछिल्लो समय यस सहरको साहित्यिक स्तम्भमध्ये एक बनेका छन्– कवि चन्द्र गुरुङ । गोर्खा जिल्लाको माझगाउँ गाउँपालिकाका उनी धरानको अस्थाइ वासिन्दा भएतापनि यहाँका हरेक साहित्यक तथा बौद्धिक कार्यक्रमहरूमा प्रतिनिधित्व तथा नेतृत्व गरिरहेको भेटिने गर्छन् । उनले आफ्नो जीवनको उर्वर समय रोजगारीको सिलसिलामा ३ वर्ष साउदी अरब र १२ वर्ष बहराइन गरी जम्मा १५ वर्ष विदेशमै बिताए । जहाँ रहेपनि उनी कलमद्धारा खबरदारी गरिरहन्थे्, गरिरहन्छन्, राज्यको कानसम्म ठोक्किने गरी । कुशासन, अन्याय, विभेद, विक्रितिविरुद्ध लेखिरहन्छन् । बोलिरहन्छन्।
२०६३ सालमै हो गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ कवितासँग्रह प्रकाशनमा आएको । जसभित्र १२ वर्षे जनयुद्धका घट्नापरिघट्नाहरू दस्तावेजिकरण भएका छन्। उनको दोस्रो कवितासँग्रह ‘जब एउटा मान्छे हराउँछ’ २०७९ सालमा प्रकाशित भएको हो । यस सँग्रहलाई भर्खरै हिन्दी भाषामा अनुवाद गरिएको छ । नयाँदिल्लीस्थित सर्वभाषा प्रकाशन गृहले ‘बूढे माँझी का देश’ को रुपमा प्रकाशनमा ल्याएको यस कृतिलाई अनलाइन विक्री र अमेजनमा राखिएको छ । यही सन्दर्भमा कवि चन्द्र गुरुङसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
‘जब एउटा मान्छे हराउँछ’ कवितासँग्रह ‘बूढे माँझीका देश’ को रुपमा आएको छ, यो नेपाली साहित्यका सर्जकहरूको लागि खुशीको कुरा हो । यो यात्रा कसरी तय भयो ?
– मेरा यी पचास थान कवितालाई आफैले हिन्दीमा अनुवाद गरेको हुँ । त्यसपछि प्रकाशनार्थ केही भारतीय प्रकाशकसित सम्पर्क गरेको थिएँ । पटनामा एकजना कवि मित्र छन् । उनलाई पनि कविता पठाएको थिएँ । पछि भारतीय मित्रबाट एउटा प्रकाशन गृहको सिफारिस आयो । सम्पर्क गर्दा यी कविताहरूलाई हिन्दीमा छाप्न सहमत हुनुभयो । परिणामस्वरुप ‘जब एउटा मान्छे हराउँछ’ हिन्दीमा दिल्लीस्थित सर्वभाषा प्रकाशनबाट आएको हो ।
यसअघि धेरै नेपाली साहित्यलाई हिन्दीमा अनुवाद गरिएको छ, तर हिन्दी साहित्यले जसरी चर्चा भने पाउन सकेनन्, तपाइँको अपेक्षा कस्तो छ ?
– मैले आफैले पनि लगभग १५–१६ जना नेपाली कविका केही कविता हिन्दीमा अनुवाद गरेको छु । जहाँसम्म मलाई जानकारी छ, केही नेपाली कवि जस्तै– दिनेश अधिकारी, रमेश क्षितिज, सरिता तिवारी, महेश पौड्याल, एलबी क्षेत्री आदिका कृति हिन्दीमा आइसकेका पनि छन् । भारतीय गोरखाली कविका त धेरै नै होलान् हिन्दी भाषामा अनुवादित कविताकृतिहरू ।
चर्चाको लागि कवि आफै पनि त्यो पाठकवृतमा परिचित हुन आवश्यक ठान्छु । मेरो कृति भर्खर आएको छ । थुप्रै लेखक मित्रहरूबाट सहयोगको आसा गरेको छु ।
भारतभर ‘बूढे माँझीका देश’ अनलाइन विक्रिमा रहेको र अमेजनमा पनि राखिएको समाचार पढ्न पाइयो, यसका केही सर्तहरू होलान् नि ?
– अनलाइनमा राखिनुको लागि कवि भन्दा पनि प्रकाशकको भूमिका महत्वपूर्ण छ । र, अचेल अनलाइनमा राखेन भनें बिक्रीमा सहयोग नहुने देखिन्छ । पक्कै पनि अनलाइनमा राखिनको लागि केही सर्तहरू हुन्छन् । मेरो किताब अगस्त ३ तारिखमा प्रेसबाट छापिएर आयो र अगस्त ४ देखि अनलाइनमा बिक्रीको लागि अमेजनमा उपलब्ध रहेको छ ।
तपाइँ आफै पनि हिन्दी, अंग्रेजी, अरबी लगायतका कविताहरूलाई नेपालीमा अनुवाद गर्दै आउनुभएको छ, अनुवादित साहित्यको मिठास ‘ओरिजिनल’ भाषामा जस्तो पाउन सकिन्छ ?
– अमेरिकी कवि रोबर्ट फ्रस्टले भनेका छन्– कविता त्यो हो जो अनुवादमा हराएर जान्छ । धेरैले कवितालाई अनुवाद गर्न गाह्रो विधाको रुपमा मान्दै आएका छन् । हुन पनि अनुवादको क्रममा कविताको मूल तत्वलाई जोगाउन गाह्रो काम हो । तर पनि विश्वभरि कविता अनुवाद हुँदै आइरहेको छ । किनभनें एउटा भाषामा लेखिएको कवितालाई अन्य भाषी पाठकसम्म लाने यो भन्दा अरु उपाय छैन । साहित्यलाई नयाँ भाषा, समाज र पाठकसम्म लानलाई अनुवाद अत्यावश्यक छ । ध्यान दिनुपर्ने के छ भनें गलत र कमजोर साहित्यको अनुवाद नहोस् । यसले नेपाली साहित्यको गलत परिचय विदेशी पाठकसम्म पुग्छ ।
नेपाली साहित्यमा अनुवादको स्थिति बिजोग छ । ससानो देशको साहित्य पनि अनुवाद र आफ्नो देशको सरकारले यस क्षेत्रमा प्रदान गरिरहेको सहयोगले विश्वभरि फैलिरहेको छ । तर नेपाली साहित्यमा यसको अभाव छ । थुप्रै विदेशी भाषाको साहित्य हिन्दीबाट अनुवाद भएर नेपाली भाषामा आउँदैछन् । यसमा भाषागत त्रुटी धेरै हुने रहेछन् । मूल भाषाबाट दोस्रो भाषामा र तेस्रो भाषासम्म पुग्दा धेरै थोक अनुवादको क्रममा हराउँछन् ।
जहाँसम्म ओरिजिनल कविताको मिठास जोगाउने कुरो छ, त्यो अनुवादकको भाषा क्षमता तथा त्यो समाज र सँस्कृतिबारे उनको ज्ञानमा पनि भरपर्छ । र अनुवादको क्रममा मूल कविलेखक तथा अनुवादबीचमा हुने सहकार्यले पनि राम्रो नतिजा दिन सक्छ ।
यहाँको कविता यसअघि पनि अंग्रेजीमा अनुवादित ‘माइ फादर्स फेस’को नामले दिल्लीको रुब्रिक पब्लिसिङ्बाट प्रकाशनमा आएको थियो । यस कृतिबाट अन्तराष्ट्रिय पाठकहरुबाट कस्ता प्रतिक्रियाहरु आएका थिए ?
– यस कृतिले मलाई विदेशी लेखकपाठकमाझ चिनाउने काम गरेको छ । यस कृतिमाथि दसओटा रिभ्यूहरू आए । भारतबाट छ जनाले रिभ्यू गरेका छन् । अमेरिकाबाट दुई तथा युकेबाट दुई जना समीक्षकका रिभ्यू आएका छन् । यस कृतिका कविता थुप्रै अन्तराष्ट्रिय वेभसाइटहरूमा छापिएका पनि छन् । सिङ्गापुरबाट निस्किने ‘वर्षका एशियन’ कविताहरू भन्ने कृतिमा मेरा दुई कविता समेटिएका छन् । साथै, २०२१ मा माइग्रेशन कवितामा म विश्वका छानिएका ४१ जना कविमध्ये एक थिएँ ।
साहित्यक बहसमा दुई कुरा हुने गर्छन्, ‘पहिलोः नेपाली विश्व साहित्य बजार/पाठकसम्म पुग्न नसक्नुमा हाम्रा उत्कृष्ट साहित्यहरू अनुवाद भएनन् । दोस्रोः आजसम्म विश्व साहित्य बजार/पाठकसँग प्रतिस्पर्धा गर्न सक्ने साहित्य सिर्जना हुन सकेको छैन ।’ तपाइँको अध्ययन र अनुभवले कुन ठिक मान्छ ? कारकतत्व दोस्रो हो भने, त्यसको उपायहरू के हुन सक्लान् ?
– मलाई यी दुबै कुरा सही लाग्छन् । म लामो समयसम्म गल्फमा वैदेशिक रोजगारीको सिलसिलामा रहेँ । अफ्रिका तथा गल्फतिरका थुप्रै कविलेखकका कृतिहरू अनेक विश्व भाषामा सहजै उपलब्ध छन् । देशमा व्याप्त राजनैतिक अन्योल र अन्य कारणले गर्दा यी देशका लेखकहरू संसारैभरि छरिएर बसेका छन् । तर जहाँ पुगेका छन्, उनीहरूले त्यहाँको भाषामा आफ्ना कृति र रचनाहरू अनुवाद गरिरहेका छन् । प्यालेस्टाइन, सिरिया, इराक, मिश्र, नाइजेरिया, सुडान जस्ता ससाना देशका कविलेखक पनि विश्वभरि चर्चित र पढिन्छन् । किनिभनें उनका कृतिहरू अनेक विदेशी भाषामा उल्था भएका छन् ।
हाम्रोमा, मुख्य कारण हो सरकारी स्तरबाट कुनै पहल नहुनु । न त हाम्रा स्तरीय साहित्यलाई अनुवाद गर्ने काम भाको छ । न अनुवादलाई प्रोत्साहन गर्ने कुनै कदम चालिएको छ । जसले गर्दा नेपाली साहित्यको अनुवाद धेरै थोरै भइरहेको छ । र, पछि परेको छ ।
सरकारी तहबाट पहल भएन भन्नुभयो, यसमा नेपाल प्रज्ञा प्रतिष्ठानको भूमिका माथि प्रश्न गर्न सकिन्छ ?
एकदम भन्न सकिन्छ । नेपाली साहित्यको उत्थान र विकासमा प्रतिष्ठानको ठूलो भूमिका छ । तर प्रतिष्ठानबाट नेपाली साहित्य र अनुवादको क्षेत्रको विकासमा खासै ठोस कदम भएको मलाई लाग्दैन । मात्रै प्रतिष्ठानका पदाधिकारी साहित्यिक सम्मेलनको नाममा देशविदेश भ्रमण गरिरहेका थिए । आफ्नै वरिपरिका लेखकका कामै नलाग्ने कृतिहरू प्रकाशन गरिरहेको छ ।
हाम्रै छिमेकमा भारतीय साहित्य अकादमीले साहित्यमा योगदानको लागि पुरस्कार दिने निष्पक्ष चलन छ । तर यस्तो प्रचलन हाम्रो नेपालमा छैन । न लेखक न अनुवादकका लागि कुनै यस्तो पुरस्कार स्थापित छैन नेपालमा । राजनैतिक पार्टीले सिफारिस गरेकालाई पुरस्कार दिने नराम्रो प्रवृति उहिल्यैदेखि चलिआइरहेको छ । जसले गर्दा असल लेखक ओझेलमा परेका छन् ।
तपाइँ गहन कविता सिर्जना गर्ने शान्त, शालिन कविको रुपमा चिनिुहुन्छ, यो काव्यिक यात्रा बग्दैबग्दै कहाँसम्म फैलिएला ?
साहित्यले हामीलाई वरिपरिका घटनाहरूलाई बेग्लै दृष्टिकोणबाट हेर्न प्रेरित गर्दै सिर्जनात्मक बन्न सहयोग गर्छ । खासमा साहित्यले हाम्रो दृष्टिकोणलाई नै फराकिलो पारिदिन्छ । हामीलाई असल मानिस बन्न सहयोग गर्दै जीवनलाई सही मार्गमा हिँडाउँछ । साहित्यले हामीलाई हरेक चीजमा सौन्दर्य खोज्न सिकाउँछ । समाजको हितमा लाग्न प्रेरित गरिरहन्छ । साहित्यमा लागेर केही असल मानवीय गुण आफूमा ल्याउन सके पनि धेरै हो ।
दुई दशक जति भएको छ साहित्य लेखनमा लागेको । र, अझै निरन्तर लागिरहने रहर छ । अनुवादका कृतिहरू ल्याउनु छ । लामो समय गल्फमा रहेँ त्यो अनुभव पनि लेख्ने मन छ ।
अर्को प्रसंगमाः खास नेपाली साहित्य पहिचानसँग जोडिएर आउँछन्, तर खास यो हो भनेर आन्दोलन नै गर्नपर्ने हो ?
पहिचान भनेको अस्तित्वको कुरो हो । वास्तवमा, पहिचान भनेको कुनै वस्तु या जातीय समूहको मूल्य र मान्यताले आफ्नो उपस्थिति जनाउनु हो । सामाजमा साँस्कृतिक, धार्मिक तथा एतिहासिक रुपमा महत्व पाउन हो । भन्नैपर्दा, पहिचान भनेको हरेक क्षेत्रमा सम्मान र विकासको अवसर पाउनु हो । खासमा पहिचान भनेको कुनै जातीय समूहको सामाजिक सौन्दर्य पनि हो । पहिचान समाजसँग जोडिएको हुन्छ ।
नेपाल सामाजिक विविधताले सम्पन्न सुन्दर देश हो । नेपाली समाज बहुभाषिक, बहुसाँस्कृतिक र बहुआयामिक छ । नेपाल देश विविध जीवन दर्शन, मौलिक विषयवस्तु, इतिहास, संस्कृति, र अस्तित्वको विविधताले भरिएको छ । विगतमा ओझेलमा रहेको विभिन्न जातीय समुदायको कला, साहित्य, सँस्कृति, इतिहास, मानवशास्त्र, समाजशास्त्र, र राजनीतिलाई साहित्यको स्वादमा ल्यानु पर्छ । झन् उनकै मौलिक तथा मातृभाषामा आउनु बाँकी नै छ ।
पहिचान मानिसको अधिकार पनि हो, र नेपाली साहित्यमा पहिचान साहित्य लेखनको अवधारणा समय सुहाउँदो छ । लामो समयसम्म नेपालका थुप्रै आदिवासी जनजाति, मधेशी तथा दलित समुदायको अस्तित्व र पहिचान अँध्यारोमै थियो । त्यसलाई प्रकाशमा ल्याउन र संरक्षण आवश्यक छ । विगतमा अविवेकी शासकका क्रूर नीतिले गर्दा थुप्रै आदिवासी जनजाति, दलित तथा मधेशी समुदायले आफ्नो सामाजिक र साँस्कृतिक अनुहार गुमाएका छन् । पहिचानको लेखनको लक्ष्य यसलाई पुनःस्थापित गर्नु हो । अन्यको पहिचानलाई सम्मान गर्दै आफ्नो पहिचानलाई जोगाउनु हो ।
यसलाई जोगाउन सहयोग गर्ने वातावरणको निर्माण गरिदिने सरकारको जिम्मेवारी पनि हो । जब सरकार यसमा चुक्छ अनि आन्दोलनको आवश्यकता पर्न जान्छ ।
अन्त्यमा, लेख्न बाँकी रहेका नेपाली साहित्य बारे केही बताइदिनुहोस् न ?
वि.सं. ६२–६३ को जनआन्दोलनपछिको परिवेश र सामाजिक परिस्थिति धेरै फेरिएको छ । अहिलेसम्म नेपाली साहित्यमा लेख्न सकिने विषयवस्तु त सब आइसकेका छन् जस्तो लाग्छ । संघर्ष, क्रान्ति, युद्ध, विद्रोह, आक्रोश र परिवर्तनबारे लेखिएका अनेकौँ कृतिहरू छन् । हाम्रो समाजमा विद्यमान विकृति, उपेक्षित र पीडित वर्गको पक्षमा पनि अनेक कृतिहरू आइरहेका छन् । यसकारण केही नआएको वा नलेखिएको जस्तो चाहिँ लाग्दैन ।
तर पनि मलाई लाग्छ कि यो नयाँ देशकाल, समाज र परिवर्तनलाई सकारात्मक रुपमा स्थापित गर्ने थप कृतिहरूको प्रकाशन आवश्यक छ । जसमा विषयवस्तुको गहनता र जीवनोपयोगी दर्शन समेटिएको होस ।