धनगढी । सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन् ।
विहिबार बैठकलाई सम्बोधन गर्दै सोडारीले सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसँग जोडिएको स्मरण गराए । उनले भने, ‘त्यसअघिका दिनमा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो । त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ ।’
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा बोल्दै सोडारीले भने, ‘सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ । सो सडक बनेपछि तिब्बतसँग सुदूरपश्चिमको पहुँच पुग्ने छ। सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि नेपाली मात्र होइन भारतीय पर्यटकलाईसमेत सजिलो हुनेछ । सो सडक सञ्चालनसँगै व्यापारिक नाका पनि खोल्नु पर्छ, जसले चिनियाँ सामान सस्तोमा पाउन सकिने छ भने हाम्रा जडीबुटी लगायतका उत्पादन पनि चीनलाई बेच्न सकिने छ ।’
मुख्यमन्त्री सोडारीले थपे, ‘सुदूरपश्चिमका धेरै नागरिक अहिले पनि सस्तो ज्यालामा भारतमा काम गरिरहेका छन् । त्यसैले सुदूरपश्चिममा औद्योगिकरण गरेर नेपालीहरुलाई नेपालमै रोजगार दिने वातावरण बनाउनुपर्छ । त्यसका लागि ठुला उद्योग, कलकारखाना र पाँच तारे स्तरका होटल निर्माण र सञ्चालनमा व्यवसायीलाई आकर्षित गर्ने नीति नियम बनाउन आवश्यक छ । सुदूरपश्चिमको जडीबुटी खेर गइरहेको त्यसको सदुपयोग गरेर उद्योग बनाउन जरुरी छ ।ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि विभेद गरेको छ । सुदूरपश्चिममा पनि कैलाली–कञ्चनपुरमा विकास बढी केन्द्रित हुँदा पहाडका बस्ती खाली भएका छन् । जनसंख्याको सन्तुलन मिलाउन सके पहाडी जिल्लाको बसाइँसराइ रोकिन सक्छ । त्यसका लागि पनि नीति नियम आवश्यक छ । खप्तड, बडीमालिका, रामारोशन, अपिसाइपाललगायत धार्मिक र पर्यटकीय क्षेत्र हुन् । ती क्षेत्रमा पर्यटकीय गतिविधि बढाएर जनताको आम्दानी बढाउने काम गर्नुपर्छ । खप्तडदेखि रारासम्मको राष्ट्रिय पदमार्गलाई अघि बढाउन पनि जरुरी छ । कर्णाली, सेती, महाकालीको पानी खेर गयो । सुदूरपश्चिमलाई सूचना प्रविधि क्षेत्रको हव बनाउनुपर्छ । त्यसो हुँदा सूचना प्रविधि पढ्नका लागि भारत र नेपालका विभिन्न शहरमा गएर महंगोरुपमा पढ्नु पर्ने बाध्यता अन्त्य हुनेछ । सुदूरपश्चिममा कर्णाली, सेती नदीबाट बिजुली उत्पादन गर्ने वातावरण बनाउन संघीय सरकारले विशेष पहल थाल्नुपर्छ ।’
उनले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर भारतको दिल्ली लगायतका शहरसँग जोड्नु पर्ने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई इंगीत गर्दै भने, ‘अहिले पनि ठुला अस्पताल नहुँदा बिमारी भारत र काठमाडौ लैजानु पर्ने बाध्यता छ । त्यसका लागि संघीय सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसका लागि गेटको दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउन आवश्यक कानुन बनाएर पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ।
सुदूरपश्चिमले जंगल जोगाएर जलवायु परिवर्तन हुन नदिनका लागि ठुलो टेवा पुर्याएको छ । जंगल जोगाएर जनतालाई जलवायु अनुकलन मैत्री काममा परिचालन गर्न विषेश योजना आवश्यक छ । उच्च जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका लागि सुदूरपश्चिममा वायुप्रर्दुषण मापन केन्द्र स्थापना गर्न जरुरी छ ।