काँकडभिट्टा । नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने समाजवादी जागरण यात्राको बारेमा जानकारी गराउने उद्देश्यले पत्रकारहरूसँग भेटघाटसहित अन्तरक्रिया गरेको छ । एकीकृत समाजवादी जिल्ला कमिटी झापा र मेचीनगर नगर कमिटीको संयुक्त आयोजनामा मंगलबार भएको पत्रकार भेटघाटसहितको अन्तरक्रियामा समाजवादी जागरण यात्राको बारेमा जानकारी गराइएको थियो ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र जिल्ला कमिटी झापाका इन्चार्जसमेत रहेका समाजवादी जागरण यात्रा मूल समारोह कमिटीका संयोजक पुष्पराज पोख्रेलको प्रमुख आतिथ्यतामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
पत्रकारहरुले उठाएका विभिन्न विषयहरुमा नेताहरु पुष्पराज पोख्रेल, बेदराज रेग्मी, समाजवादी खेलकुद महासंघ प्रदेश अध्यक्षसमेत रहेका समाजवादी जागरण यात्रा आर्थिक विभागका संयोजक शंकर थापा, समाजवादी प्रेष संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलले जवाफ दिएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य निलमणी वराल, शारदा शर्मा लगायतका नेताहरुको सहभागिता थियो । सो कार्यक्रमको सहजिकरण समाजवादी प्रेष संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज तीर्थ सिग्देलले गरेका थिए ।
सोही अवसरमा नेकपा (एकीकृत समाजवादी) मेची नगर कमिटीले जागरण यात्राको तयारी र त्यसको व्यवस्थापनका बारेमा बैठक बसेर छलफल गरेको एकीकृत समाजवादी झापाका पूर्व सचिव विपी भट्टराईले जानकारी दिए ।
त्यसैगरी सोमबार दमकमा जागरण यात्रालाई सफल बनाउन आवश्यक तयारीका बारेमा बैठक बसेर छलफल गरिएको समाजवादी प्रेस संगठन झापाका अध्यक्ष अनिलदेब राईले जानकारी दिए । राईका अनुसर दमकमा जागरण यात्राका लागि आगान्तुकहरुका लागि स्वागत ब्यानर, दमक गणतन्त्र चौकमा पार्टीको झण्डाले सजाउने, अपरान्ह हुने कोणसभाका लागि पिउने पानी सहित जागरण यात्राको उद्घाटन स्थल काँकडभिट्टा सम्म बसको व्यवस्थापन गर्ने लगायतका निर्णयहरु भएको छ ।
नेकपा एकीकृत समाजवादीले देश रूपान्तरणको मूल एजेन्डासहित अभियान सुरु गर्न लागेको हो ।
अभियानमा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायतका शिर्ष तहका नेताहरुको सहभागिता हुने बताईएको छ ।