April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

साकेला पार्कमा वृक्षारोपण, स्थानीयको उत्साहजन सहभागिता

2.9K

खोटाङ । साकेला गाउँपालिकाका विभिन्न कार्यालय, धार्मिकस्थल तथा सार्वजनिकस्थलहरुमा निरन्तर वृक्षारोपण गर्ने कार्य जारी छ । सोही कार्य अनुरुप बुधबार वडा नम्बर २ को रतन्छास्थित साकेला पार्कमा करिब दुई सय विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

साकेला थान वरिपरी र साकेला पार्कभित्र पारिजात, अशोक, गुल्मर, कल्की जातका विरुवा रोपिएको हो । उक्त वृक्षारोपण अभियानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । गाउँपालिकाले सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्यालय, धार्मिकस्थलहरु, सार्वजनिकस्थलमा विभिन्न प्रजातिका मौसम अनुकूल विरुवा रोप्ने अभियान सञ्चालन गरिरहेको छ ।

गाउँपालिका प्रमुख रवि प्रकाश राई स्वयं उपस्थित भएर वृक्षारोपण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । गत वर्ष पनि गाउँपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका सात सय फूल तथा विरुवा रोपिएको पालिका अध्यक्ष राईले बताए । विद्यालय तथा कार्यालय परिसर, धार्मिकस्थलहरुमा २५ हजार विरुवा रोप्ने घोषणा गरे अनुसार निरन्तर वृक्षारोपण अभियान सञ्चालन भईरहेको उनको भनाई छ । यसैवर्ष साप्सुखोला (मानेभञ्ज्याङ) तावाभञ्ज्याङ सडक किनारामा सात हजार विरुवा रोपिने उनले बताए ।

Advertisement

मौसम र भूगोल सुहाउँदो लालिगुराँस, अशोक, निल्मर, गुल्मर, कल्की, पारिजात, क्रिशमस ट्रि लगायतका विरुवाहरु सडक किनारा, कार्यालय परिसर, बजारक्षेत्र, सार्जनिक क्षेत्रहरुमा भौगोलिक वनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू(क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका विरुवा रोपिने अध्यक्ष राईको भनाई छ ।

साकेला गाउँपालिकाले सञ्चालन गरेको वृक्षारोपण अभियान अत्यन्तै राम्रो भएको स्थानीयवासीहरु बताउँछन् । रतन्छाका स्थानीयवासी सन्तराज राईले गाउँपालिकाले विभिन्न प्रजातिका विरुवाहरु उपलब्ध गराएको प्रति आभार व्यक्त गर्दै विभिन्न विकासका गतिविधिहरुमा गाउँपालिकाले सञ्चालन गर्ने श्रमदान अभियानमा आफूहरुको निरन्तर साथ र सहयोग हुने बताए ।