November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश मन्त्री जवेगूद्वारा हेवा खोलामा निर्मित बेलिब्रिज उद्घाटन

1.4K


पाँचथर ।   मेची राजमार्ग अन्तर्गत फिदिम -४ र हिलिहाङ -७ को सङ्गममा पर्ने हेवाखोला दोभानमा निर्मित बेलिब्रिज उद्घाटन भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कमलप्रसाद जवेगूले बेलिव्रिजको उद्घाटन गरेका हुन् ।  

उद्घाटन कार्यक्रममा जवेगूले पुल निर्माणका क्रममा खट्ने कामदार र प्राविधिकसँगै जनप्रतिनिधि र सुरक्षाकर्मीलाई धन्यवाद दिए । मन्त्री जबेगुले बाढीले भत्काएका अन्य पुलहरू पनि चाँडै निर्माण गरिने भन्दै बाढीले भत्काएका अन्य ठाँउका पुलहरू पनि निर्माणका लागि प्रदेश सरकारले कदम चाल्ने बताए । उनले भने, ‘स्रोत साधानले भ्याएसम्म निर्माणका कामलाई अघि बढाउनेछौँ ।’

असार २ गतेको बाढीले पक्की पुल भत्काएर राजमार्ग अवरुद्ध भएको करिब एक महिनापछि बेलीब्रिज निर्माण सम्पन्न भएको हो । बिज्र निर्माण भएपछि आइतबार मध्यान्नदेखि यातायात सञ्चालनमा आयाको थियो । पक्की पुल भत्किएको २९ दिनमा ४८.८० मिटर लम्बाई रहेको ब्रिज निर्माण गरिएको हो ।

Advertisement

ब्रिज सञ्चालनमा आएपछि साना सवारी साधनलाई प्राथमिकतामा राखेर यातायात सूचारु गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो  । ब्रिजमा २५ टन भन्दा बढी भारवाहन भएका सावरीलाई आवतजावत गर्न रोक लगाइएको छ । ब्रिज निर्माण सम्पन्न भएपछि मेची राजमार्ग हुँदै ताप्लेजुङतर्फ जाने सवारी साधानहरु सञ्चालनमा आएका छन् ।

बाढीले पक्की पुल भत्काएपछि यातायात सञ्चालन हुन नसक्दा ताप्लेजुङसहित पाँचथरका याङवरक, हिलिहाङ र फालेलुङ गाँउपालिका प्रभावित भएका थिए । उक्त स्थानमा सहज रुपमा यातायात आवतजावत गर्न सकेका थिएनन् ।
ताप्लेजुङको भूभागसँगै हेवाखोला पारी पर्ने पाँचथरका फालेलुङ हिलिहाङ र याङवरक गाउँपालिकालाई जोड्ने सो स्थानमा रहेको मोटरेबल पुल भत्कीए पछि त्य क्षेत्रमा वासिन्दाले एक महिना सम्म विभिन्न समस्या झेल्नु पर्यो । 
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्वे, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी र सडक डिभिजन इलामका प्रमुख विदुर पोखरेलसहित सर्वसाधारण र राजनैतिक दलका नेता कार्यकर्ताको उपस्थिति थिए ।

बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकार अन्तर्गतको भौतिक तथा यातायात मन्त्रालयले  सडक डिभिजन इलामलाई जिम्मेवारी दिएको थियो । बेलिब्रिज २ करोड रुपियाँको लगानीमा निर्माण भएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ  ।