काठमाडौं । नेकपा एकीकृत समाजवादी कोशी प्रदेशले नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ । आईतबार तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम एकीकृत समाजवादीले बहिस्कार गरेको हो ।
मन्त्रिमण्डल विस्तार गर्दा सहमति कार्यान्वयन नगरिएको भन्दै एकीकृत समाजवादी असन्तुष्टि जनाएको हो । मन्त्रिमण्डल विस्तारको विषयमा छलफल नै नगरिएकाले शपथ समारोहमा नगएको नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले जानकारी दिए ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन ।
आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई हुन् ।