पाँचथर । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादीका इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् । आङ्बोले प्रतिस्पर्धी नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्दै विजयी भएका हुन् ।
आङ्बोले नेम्बाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गरेका हुन् । आङ्बोलाई १५ हजार ६ सय ७२ मत प्राप्त भएको छ भने उनका प्रतिस्पर्धी एमालेका नेम्बाङले १२ हजार ६ सय ५ मत पाएका छन् ।
आङ्बो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् । उनी २०७४ सालको आम निर्वाचनमा तत्कालीन बाम गठबन्धनका तर्फबाट यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका आङ्बो एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन् ।
उनी यस पटक माओवादी केन्द्र, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रका तर्फबाट साझा उम्मेदवार थिए ।