February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ: गगन थापा

1.9K

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै थापाले  छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानून बनाउनुपर्ने बताएका हुन्।

प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको भन्दै प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुँदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको र कम खर्चमा पनि चलाउन सकिने थापाको भनाइ थियो । विगतमा १४ अञ्चल र ५ विकास क्षेत्र हुँदा हुने खर्चमै ७ प्रदेश र ७५३ स्थानीय सरकार चलाउन सकिने थापाको भनाइ छ । उनले भने, ‘लोभले गर्दा तलदेखि माथिसम्म सबैलाई मन्त्री बन्नुपरेको छ । मन्त्रालय घटाउनुपर्छ । संघमा ८ देखि १० मन्त्रालय भए पुग्छ । यत्रो ठूलो कर्मचारीतन्त्र छ, यही कर्मचारी र प्रहरीले संघ र प्रदेश चल्छ ।’

यस्तै, आफ्नो क्षेत्रमा टुक्रे बजेट पार्न मरिहत्ते गर्ने प्रवृत्तिले संघका मन्त्रीहरु र वडा अध्यक्षबीच फरक छुट्याउन कठिन हुन थालेको थापाले टिप्पणी गरे । चुनाव अघिको गठबन्धनले लोकतन्त्रलाई विकृत बनाएको बताउंदै उनले आउदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने धारणा राखे । समानुपातिक निर्वाचन प्रणालीले पनि विकृति ल्याएको भन्दै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

Advertisement

निर्वाचनसम्बन्धी नयाँ विधेयक संसदमा ल्याउने तयारी भइरहेको भन्दै उनले निर्वाचन प्रणाली बदल्न त्यहाँ काम गर्न जरुरी रहेको बताए । पार्टीको संसदीय समितिले सांसदको टिकट बांड्ने परिपाटीले पार्टीमा गुटबन्दी मौलाएको भन्दै महामन्त्री थापाले सम्बन्धित क्षेत्र, पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो हुने पनि बताए ।