बुटवल । प्यालेस्टाइन र इजरायलबीचको द्धन्द्धमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीको सम्झनामा बुटवलमा दीप प्रज्वलन गरिएको छ । यस दुःखद घडीमा ‘लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईज’ले बुटवलको मिलनचोकमा श्रद्धाञ्जली शोकसभा कार्यक्रम राखेको हो ।
नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका १० विद्यार्थीहरुको प्यालेस्टाइनी हमासको आक्रमणमा परी मृत्यु भएको छ । उनीहरुको सम्झनामा बुधबार साँझ बुटवलको मिलनचोकमा दिप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा रिजन चेयर पर्शन दीपक श्रेष्ठ, जोन चेयर पर्शन अमृता कार्की पौडेल, क्लबको अध्यक्ष सुमित्रा टण्डन, सचिव सुनिता न्यौपाने, डाईरेक्टर सरस्वती राना लगायतको उपस्थिति रहेको थियो ।
अर्न एण्ड लर्न कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदुरपश्चिमान्चल विश्वविद्यालयबाट ४९ जना इजरायलको विभिन्न क्षेत्रमा कार्यरत थिए । जसमध्ये हमासको आक्रमणबाट सुदरपश्चिमान्चल विश्वविद्यालयका १० जनाको निधन भएको छ । एकजना विध्यार्थी अझैं सम्पर्कवीहिन छन् भने ४ जना घाइते भएका छन् ।
कार्यक्रममा क्लबको अध्यक्ष सुमित्रा टण्डनले मृतकको चीर शान्तिको कामना गर्नुका साथै मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी थिईन् । नेपाल सरकारलाई इजरायलमा रहेका नेपालीहरूको उद्दार कार्यमा ढिलाई नगर्न अनुरोधसमेत गरेकी थिईन् ।
शोक सभा कार्यक्रममा बिरगाथा साकोसका उपाध्यक्ष गीतारानी बराल तथा अन्य सदस्यहरू र प्रहरी जवानहरूले उपस्थिति जनाएर साथ दिएका थिए ।