January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

एमालेनिकट मगर संघ नेपालको प्रदेश अधिवेशन पुस ९ र १० गते पोखरामा हुँदै

11.2K

पोखरा । नेकपा (एमाले)निकट मगर संघ नेपाल, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशन यही पुस ९ र १० गते पोखरामा हुने भएको छ । संघका गण्डकी प्रदेश संयोजक दिलबहादुर थापाका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
अधिवेशनको उद्घाटन नेकपा (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेको संयोजक थापामगरले जानकारी दिए ।

त्यस्तै, अधिवेशनका अवसरमा नेकपा (एमाले)को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यलाई बधाई ज्ञापन एवं सम्मान समेत गर्ने कार्यक्रम रहेको सह–संयोजक तारामाया थापामगरले जानकारी दिए ।

mostbet

सह–संयोजक थापामगरका अनुसार अधिवेशनलाई एमाले उपमहासचिव गुरुङसहित सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुख किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारी, पोलिटब्यूरो सदस्य एवं आदिवासी जनजाति फाँट इञ्चार्ज गोकुल घर्तीमगर, पोलिटब्यूरो सदस्य एवं प्रदेश सह–इञ्चार्ज जगत विश्वकर्मा, पोलिटब्यूरो सदस्य लीलाबहादुर थापामगरलगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

Advertisement

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब डेढ सय प्रतिनिधि सहभागी हुन जनाइएको छ । अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

नेकपा (एमाले)ले पार्टी महाधिवेशन सम्पन्न भएपश्चात् आफ्ना विभिन्न जनसंगठनको अधिवेशन गर्न निर्देशन दिए अनुसार विभिन्न जनसंगठनहरूले धमाधम अधिवेशन गर्न थालेका छन् ।