पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावले सुत्केरीसहित ६ जना कोरोना संक्रमितको ज्यान गुमेको छ । हाइफ्लो अक्सिजन दिएर अस्पतालमा उपचार गराइरहेका प्रदेशका विभिन्न जिल्लाका बिरामीले समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेको हो ।
गएराति सुत्केरीसहित ६ जनाले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेमा तनहुँ, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका बिरामी रहेको कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले जानकारी दिएका छन् ।
अस्पतालले पर्याप्त अक्सिजन नपाएको टिप्पणी गरेको छ । अस्पतालका अक्सिजन फोकलपर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए । उनले भने, ‘हाम्रो मागभन्दा कम अक्सिजन उत्पादन भएछ, उद्योगमा हिजो केहीबेर लाइन गएछ । त्यही भएर हामीले माग गरेजति अक्सिजन पाउन सकिएन ।’ अस्पतालमा अझै पनि अक्सिजनको कमी भइरहेको उनले बताए ।
डा. शरदका अनुसार हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई पाँच मिनेट मात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्छ ।
पर्याप्त अक्सिजन नपाउँदा यस्तो भयो : अस्पताल
अस्पतालमा आवश्यकताअनुरूप अक्सिजनको आपूर्ति नहुँदा बिरामीहरूले ज्यान गुमाउनुपरेको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले स्वीकार गरेका छन् ।
उनले अस्पतालमा अक्सिजन सिलिन्डरलाई दैनिक एक सयवटाका दरले रोटेसन गराएको र एकपटकमा तीनदेखि चारवटा मात्र अक्सिजन सिलिन्डर उपलब्ध हुने गरेको थियो । त्यही सिलिन्डर पनि समयमा भरेर नआउँदा यस्तो अवस्था आएको उनले बताए ।
आफूहरू रातदिन खटिँदासमेत अक्सिजन नपाएको उनको दुखेसो छ । ‘हामीसँग भएका अक्सिजन सिलिन्डर रातदिन खटिँदासमेत भर्न सकेनौँ । अस्पतालमा चार सयको हाराहारीमा अक्सिजन सिलिन्डर चाहिन्छ, तर रोटेसन गराएर सयवटा सिलिन्डरलाई मात्र भर्न पाएका थियौँ, त्यही पनि भरेर समयमा पाएनौँ,’ उनले भने ।