हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार सपथ गराएका छन् । नवनियुक्त मन्त्रीहरुमा हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरी छन् ।
सामाजिक विकास मन्त्रालयमा हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।
बुधबार विनाविभागीय मन्त्रीको शपथ लिएका काफ्लेलाई मुख्यमन्त्री लामाले बिहीबार नै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, काफ्लेले आर्थिक मामिला मन्त्रालय माग्दै शपथ कार्यक्रम रोक्न दबाव दिएका थिए ।
लामाले काफ्लेलाई आर्थिक मामिला पठाएसँगै रिक्त रहेको सामाजिक विकास मन्त्रालयमा हरि प्रभा पुगेकी हुन । यसअघि महिलालाई मन्त्री नबनाएको भन्दै कांग्रेसभित्र विवाद चर्किएको थियो ।