काठमाडौं–प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो हार व्यहोरेको छ। सोमबार भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशसँग २ विकेटको हार ब्यहोरेको हो।
यसअघि एपीएफ क्लबसँग पहिलो खेलमा १३५ रनको हार व्यहोरेको प्रदेश १ दोस्रो खेलमा पनि पराजित भएको हो। यो हारसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। यता, गण्डकी प्रदेशको भने यो पहिलो जित हो। यसअघि भएको खेलमा गण्डकी प्रदेश आर्मी क्लबसँग ९८ रनले हारेको थियो।
१०३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको गण्डकी प्रदेशले ३७ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेटायो। गण्डकीको जितमा अर्जुन कुमाल र दीपक डुम्रेले समान ३५–३५ रन बनाए। शुभांकर उराओ र मनिष थापाले समान २–२ विकेट लिए।