April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एमालेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत

3K

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको महाधिवेशन आयोजक कमिटी विघटन गर्ने भएका छन् ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले विवादमा तानिएको उक्त कमिटी विघटन गर्ने जानकारी दिएका हुन् ।

नेकपा एमालेका नेता विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रष्ट पारेका छन् ।

Advertisement

पार्टीलाई एकताबद्ध बनाउन उक्त कमिटी विघटन गर्ने उनले बताए । नेता रिजालले केही दिनपछि बस्ने एमालेको साविक केन्द्रीय कमिटीको बैठकले पार्टीलाई अगाडि बढाउने बताएका छन् ।

‘अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ उनले ट्विटरमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्ताव ल्याएका थिए । सोही प्रस्ताव अनुसार पार्टीलाई अगाडि बढाउन ओलीले उक्त कमिटी खारेज गर्ने भएका हुन् ।

उनले एमालेलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्काउने र सोहीअनुसार एमालेको कमिटी ब्यूँत्याउने बताएका थिए । तर, माधव नेपाल समूहले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने बताउँदै आएको छ ।