May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दोस्रोपटक अविश्वास प्रस्ताव दर्ता

8.1K

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरिएको छ।

विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। अविश्वास प्रस्तावमा ४० जना सांसदले हस्ताक्षर गरेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनाैडियाले बताए।

कांग्रेसको प्रस्ताव र जसपाको समर्थनमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। 

Advertisement

वैशाख ६ मा विपक्षी दलले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। उक्त अविश्वास प्रस्तावले सदनमा छलफल तथा मतदानमा प्रवेश नपाएको तथ्य देखाउँदै नयाँ प्रस्तावको दर्ता गरिएको हो।

यसअघि गत १९ गते अविश्वासको प्रस्तावमाथि छलफल हुनुअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। सोही दिन उनी विवादास्पद ढंगबाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

त्यसदिन विपक्षी गठबन्धनले आफूहरूको पक्षमा बहुमत सांसदहरू रहेको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई हस्ताक्षर बुझाउँदा पनि उनले पोखरेललाई नै नियुक्ति गरेका थिए। मुख्यमन्त्री बनेका पोखरेलले पदमुक्त भइरहेका माओवादी केन्द्रका सांसदहरूको समेत हस्ताक्षर बुझाएका विपक्षीहरूको आरोप छ।

प्रदेश प्रमुख यादवले विपक्षीको विरोधका बीच मुख्यमन्त्री नियुक्त मात्रै गरेनन्, मुख्यमन्त्री कार्यालयमै गएर शपथ समेत खुवाएका थिए।

वैशाखमा ६ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदले अविश्वासको प्रस्ताव संसदमा दर्ता गराएका थिए। अविश्वासको प्रस्ताव दर्ता भएकै दिन पोखरेलले त्यसमा हस्ताक्षर गर्नेसहितका जनता समाजवादी पार्टीका चार जनालाई मन्त्री बनाएका थिए। जसपाले मन्त्री बनेका ४ जनाको सांसद पद खोसेको थियो।