January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

बाढीपहिरो प्रभावित नेपालीलाई एनआरएनएले एक करोड सहयोग गर्ने

620

लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

एनआरएएका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।

बैठकले एनआरएनए उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको छ । समितिमा सङ्घका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन् ।

Advertisement

पदाधिकारीको बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग सङ्कलनमा थप छलफल गरिने जनाइएको छ ।

अध्यक्ष डा केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ ।