November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’ मा सरकारसँग सहकार्य गर्ने

1.8K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले “लगानी शिखर सम्मेलन २०२४” मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच सोमबार भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो ।

छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली संघको सहकार्य र सहभागितामा केन्द्रित थियो ।

सो अवसरमा अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गरे । एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाई थियो ।

Advertisement

छलफलका क्रममा लगानी बोर्डका प्रमुख सुशिल भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरु तथा बिदेशीहरुसँग समन्वय गरेर लगानी सम्मेलनमा प्रभाबकारी सहभागिता जनाउन संघसँग अनुरोध गरे ।

विगतमा गैरआवासीय नेपाली संघसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि संघको सहभागिता सक्रिय रुपमा हुने विश्वास व्यक्त गरे । छलफलमा अध्यक्ष डा केसीसहित एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई र अधिकृत कुनाल मिश्रको उपस्थिति रहेको थियो ।