October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा नतिजा अस्वीकार, समापन समारोह स्थगित हुने संभावना

4.8K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्यासी आरके शर्माले नतिजा अस्वीकार गर्ने बताएका छन् । संघको अन्तरराष्ट्रिय समन्वय परिषदको २०२३-२०२५ कार्यकालका लागि भएको निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्ने शर्माले बताएका हुन् ।

बिहीवार प्रेस नोट जारी गर्दै शर्माले भनेका छन, ‘निर्वाचन प्रक्रियामा प्रयोग गरिएको अनलाईन प्रणालीको चरम दुरुपयोग गरि धाँधलीपूर्ण रूपमा सार्वजनिक गरिएको निर्वाचन मत परिणामलाई पूर्ण रूपमा अस्वीकार गरि हामीलाई अमान्य रहेको स्पष्ट पार्न चाहन्छौ ।’

एनआरएनए आफैमा खराब संस्था खराब नरहेको तर संस्थालाई उपयोग गरेर धमिलो पानीमा माछा मार्ने प्रवृति भएका स्वार्थपूर्तिका खातिर यस संस्थालाई उपयोग गरिरहेका हरूले सम्पन्न निर्वाचनलाई प्रयोग गरिएको प्रणालीको चरम दुरुपयोग, संघको कार्यकारी पदमा रहेकाले अख्तियारको दुरुपयोग गरेर धाँधली गरेको उनको आरोप छ । ‘यसको निष्पक्ष छानबिन गरि सत्य तथ्य पत्ता लगाई दोषी उपर कार्यवाही र पुनरनिर्वाचन गराउने प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायसंग जोड़दार माग गर्दछु’, उनले भनेका छन् ।

Advertisement

शर्माले एनआरएनएको नियमक निकाय नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई अब एनआरएनएका सम्पूर्ण काम कारवाही आफनो नियन्त्रणमा लिएर यसलाई सहि गतिमा संघले राखेको लक्ष्य उद्देश्य प्राप्तिका निम्ति अघि बढ़ाई अविभावकत्व प्रदान गरिदिनु आग्रहसमेत गरेका छन् ।

एनआरएनको समापन समारोह स्थगित हुने संभावना छ । नेतृत्व चयन गर्न अनलाइनमार्फत् भएको निर्वाचनमा विवाद उत्पन्न भएपछि आज हुने भनिएको समापन कार्यक्रम नहुने भएको हो।

कार्यक्रम स्थगित हुने आधिकारिक जानकारी भने आउन बाँकी रहेको एनआरएनएका एक निर्वाचित पदाधिकारीले जानकारी दिए । ‘परराष्ट्र मन्त्रालयबाट घोषणा भएको आधिकारिक जानकारी आउन बाँकी छ । कार्यक्रम स्थगित हुने निश्चित छ’, उनले भने । उनका अनुसार आजको कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कि नआउने भन्ने टुंकोसमेत छैन ।

भोटिङमा एकजना उम्मेदवारको नेपालबाट प्राप्त मत शून्य देखिएको साथै अन्य नतिजासमेत संकास्पद देखिएको भन्दै विवाद उत्पन्न भएको छ । यसबारे निर्वाचन कमिटीले अनलाइन भोटिङ गराउने जिम्मा पाएको अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीसँग त्यसबारे सत्य तथ्य बुझ्न पत्रचारसमेत गरिसकेको छ ।

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदले अनलाइन भोटिङका लागि अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीलाई जिम्मा दिएको थियो । कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो ।सार्वजनिक मतपरिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भएका छन् भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत भने शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो ।

अध्यक्षका उम्मेदवार लगायतले निर्वाचनमा धाँधली भएको भन्दै रद्द गर्न माग गरेका छन् । उपाध्यक्षमा विजयी घोषणा गरिएका खगेन्द्र न्यौपानेले समेत निर्वाचनमा धाँधली भएको भन्दै आफू विजयी भएको नतिजालाई नस्वीकार्ने बताएका छन् ।