May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए महिला सचिवमा पुनः टीका गुरुङको उम्मेदवारी घोषणा

1.3K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनका लागि राधिका गुरुङ (टीका) ले महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले एनआरएनएको २०२३–२०२५ कार्यकालको लागि पुनः उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।

कास्कीको पोखरा निवासी राधिका सन् १९९४ देखि हङकङमा रहँदै आएकी छन् । उनी लामो समयदेखि एनआरएनए अभियानमा जोगिएकी छन् । विगत २७ वर्षदेखि हङकङमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिया रहेकी गुरुङले सबैको साथ, सल्लाह र परामर्शका कारण नै मैले पुनः यस पदमा आउँने निर्णय गरेकी बताइन् । ‘पद भन्दा पनि संघ र उद्देश्यप्रति म पहिला जस्तै लागि पर्ने छु’, गुरुङले भनिन् ।

दुई कार्यकाल एनआरएनए हङकङको नेतृत्व गरेकी गुरुङले एनआरएनए एनसीसीहरूमध्येमा सबैभन्दा उत्कृष्ट काम गरेर चचा पाएकी हुन् । उनी एनआरएनएको महिला सचिव २०२१–२०२३ का लागि निर्विरोध निर्वाचित भएकी थिइन् ।

Advertisement

हङकङ सरकारबाटसमेत सम्मानित गुरुङले एनआरएनए हङकङको नेतृत्वमा रहँदा सन् २०१८ मा पहिलोपटक हङकङमा ‘एसिया प्यासिफिक रिजनल मिटिङ’ गराएर नेपालका प्रतिनिधिसहित ३५ वटा राष्ट्रका एनआरएनए प्रतिनिधि, एनआरएनए अभियन्ता, अग्रजहरुको उपस्थितिमा ऐतिहासिक सम्मेलन गर्न सफल भएकी थिइन् । त्यसपछि दोस्रो कार्यकालमा कोरोना महामारीमा उनको नेतृत्वमा भएको सहयोग अतुलनीय छ । त्यतिबेला उनको सक्रियतामा १७ लाख १९ हजार माक्स र १३० वटा अक्सिजन मेसिनसहित लगभग ४ करोड रुपैयाँको डोनेशन उठाएर नेपाल पठाइएको थियो ।

उनले आफ्नो कार्यकालमा महिला सशक्तिकरण एनआरएनए महिलाको सहभागिताको लागि विभिन्न देशमा सचेतानामूलक कार्यक्रम तथा महिलाहरुको हक, अधिकार, सुरक्षा, सुरक्षित वैदेशिक रोजगार लगायत विषयमा अन्तरक्रिया कार्यक्रम गरेकी थिइन् भने मन्त्रालयसम्म पुगेर विदेशमा बसेका नेपाली महिलाहरुको विषयमा ध्यानाकर्षण गराएकी थिइन् । त्यस्तै नागरिकता विधेयक पास गराउनमा पनि उनले भूमिका निर्वाह गरेकी थिइन् ।

गुरुङले आफ्नो प्रतिवद्धतापत्र केहीदिनमा सार्वजनिक गर्ने बताएकी छिन् । यद्यपी उनको अनुभवको सदुपयोग, नेपाली नागरिकताको निरन्तरता, पर्यटन प्रर्वद्धन, गोरखा समानताको आन्दोलन, सम्मानित बैदेशिक रोजगार, महिला सशक्तिकरण, नेपालमा प्राविधिक शिक्षा र युवा पुस्तालाई संस्थामा आवद्धको विषयलाई प्राथमिकताका साथ उठाउने उनको योजना छ ।