May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनएको उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाको उम्मेदवारी घोषणा

2.5K

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी घोषणा गरेका छन् । हाल संघको उपमहासचिवको हैसियतमा रहेका उनले आगामी अक्टोबरमा हुने संघको ११ औँ विश्व सम्मेलनमा उपाध्यक्षका लािग उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २००१ देखि बेलायत बस्दै आएका उनी संघमा बलियो साङ्गठनिक पकड भएका अभियन्ताका रूपमा चिनिन्छन् । संघमा स्थापनाकालदेखि नै सक्रिय रहेका उनी संघको बेलायतस्थित राष्ट्रिय समन्वय परिषद्को स्थापनामा समेत सक्रिय भूमिका खेलेका छन् ।

सन् २००४ को अन्त्यतिरबाट एनआरएनए युकेको स्थापनासँगै अभियानमा सरिक उनी त्यसयता सक्रियरुपमा लागिरहेका छन् । २००५ मा संघको पहिलो विधान मस्यौदा समिति, २०११ मा एनआरएनए युकेको राष्ट्रिय संयोजक, २००७–११, २०१३–१७ यूके सल्लाहकार हुँदै २०१७–१९, २०१९–२१ दुई कार्यकाल आईसीसी सदस्य बनेका उनी विधान समिति सदस्य ३ पटक, उपसंयोजक एक कार्यकाल र केन्द्रीय नीति निर्माण समिति संयोजक, केन्द्रीय परोपकार तथा मानव कल्याण समिति सदस्य सचिव हुँदै उनी हाल केन्द्रीय उपमहासचिव पदमा क्रियाशील रहेका हुन् ।

Advertisement

आफ्नो रुचिको पद महासचिव भए पनि ‘सबै सँग सँगै हिँडौँ’भन्ने अभिलाषाले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । विधि विधानतः संस्थालाई हिँडाउने र संघको मौलिक पहिचान ‘नेपालमा पर्दा केही गर्ने अठोट’ लाई पुनर्जागृत गराउने स्पष्ट मार्गचित्र सहित केन्द्रीय उपाध्यक्षमा आकांक्षी रहेको उनले बताए ।

गैरआवासीय नेपाली संघभित्र मौलाउँदै गएको विकृति र स्वार्थको कारण २०२१–२३ को कार्यकालले जम्बो टिम निर्माण गर्नु परेको उनको भनाइ छ ।