लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको पछिल्लो बैठक अल्डर्शटस्थित संघको कार्यालयमा बसेको छ । गत मे १५ आइतबार बसेको कार्यसमितिको पूर्ण प्रत्यक्ष बैठकले एनआरएनएमा हालै घटित घटनाहरु र त्यसबाट विकसित उल्झनहरुलाई निकास दिने प्रयास गरेको छ ।
संघले निकट भविष्यमा गर्न गइरहेको कृयाकलापहरुउपर छलफल गरी केही योजनाहरु तय गरेको छ । जसमध्ये आगामी जुन ३ मा डा. महावीर पुनसंग अन्तरकृया गर्ने, जुन ४ मा हुने गोर्खा कप फूटबल प्रतियागिताको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने र नेपाल हाउसका निर्माण वा खरिद प्रकृयाबारे परामर्श लिन रशमूरका काउन्सिल लीडरहरुसंग अन्तरकृया गर्ने जस्ता कृयाकलापहरु प्राथमिकतामा परेका छन् ।
संघले गर्ने अन्य कृयाकलापहरुमा निकट भविष्यमै मीडल्याण्डमा एनआरएनए यूके क्रिकेट टुर्नामेण्ट आयोजना गर्ने र सोही क्षेत्रमा एनआरएनए मेला पनि आयोजना गर्ने निर्णय गरेको छ ।
तर बैठक विशेषगरी वर्तमानमा सबैभन्दा महत्वपूर्ण मानिएको तर केही समययता खट्केर रहेको “सदस्यता लेभी नेपाल पठाउने वा नपठाउने” भन्ने बारेमा केन्द्रित रह्यो । जसअनुसार एनआरएनए यूकेले गत बर्ष २०२१ मा संघको अधिवेशन र निर्वाचनको सन्दर्भमा जम्मा गरेको सदस्यता शुल्क नेपालस्थित अन्तर्राष्ट्रिय परिषदलाई पठाउनभन्दा पहिले केही शर्त, अनुरोध र अपेक्षाहरु आइसीसी समक्ष राख्ने निर्णय लिएको छ ।
“बैठकमा एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचनको सन्दर्भमा पञ्जिकृत सदस्यहरुबाट सदस्यता शुल्कबापत लिइएको रकम नेपालस्थित अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाउनेबारेमा हामीले छलफल गर्यौं । छलफलपश्चात गत १५ मार्च २०२२ मा बसेको एनआरएनए यूकेको बैठकले निर्णय गरे बमोजिम एनआरएनए यूकेले आइसीसीसंग एम. ओ. यु. गरेर मात्रै सदस्यताबापत संकलित लेवि आइसीसीलाई पठाउने निर्णय गरेका छौं”, बैठकपछि महासचिव खुशी लिम्बूले मिडियालाई जानकारी गराए ।
लिम्बूका अनुसार उल्लिखित एम. ओ. यु. बारेमा आइसीसीलाई पटक पटक पत्राचार गर्दा पनि आइसीसीले उक्त पत्रहरुप्रति चासो नदेखाएको हुँदा यस विषयमा एनआरएनए यूकेको उक्त विषयप्रति यथाशीघ्र चासो जगाउन आइसीसीलाई पुनः पत्राचार गरिने भएको छ ।
तर फेरि उनले भने, “एनआरएनए यूकेले आफ्नो कार्यालय नेपाल हाउस निर्माण वा खरिद गर्ने प्रकृया सुरु गरिसकेको अवस्थालाई मध्यनजर गर्दै सो उद्देश्य पुरा गर्नका लागि पञ्जिकृत सदस्यहरुबाट गत बर्ष २०२१ सदस्यताबापत संकलित झण्डै ४३ हजार पाउण्ड यस पटकको लागि मिनाहा गरिपाऊँ भनी एनआरएनए आइसीसीलाई एक अनुरोध पत्र पहिला पठाउने छौं।”
बैठकले गरेका अन्य निर्णयहरुमा एनआरएनए यूकेको बैंक वेलफेयर अकाउण्ट वन्द भएको वर्तमान अवस्थामा र खातामा रहेको करिब २६,००० पाउण्ड पूर्व अध्यक्ष पूनम गुरुङ तथा पूर्व कोषाध्यक्षहरुसंग सम्पर्क गरी उक्त विषयलाई निकासा दिने भएको छ ।
त्यस्तै, एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचनको सन्दर्भमा राज्य समन्वय परिषदका उम्मेदवारहरुबाट लिएको उम्मेदवारी शुल्क फिर्ता गर्ने सम्बन्धमा गरिएको पूर्व निर्णय अनुसार स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड राज्य समितिलाई शुल्कको ५० प्रतिशतसम्म फिर्ता पाउने भएका छन् ।