March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

बेलायतका समाजसेवी राजशान्तिलाई ‘अन्तर्राष्ट्रिय सम्मान’

4.9K

लन्डन । बेलायतका वरिष्ठ समाजसेवी राजकुमार सुनार (राजशान्ति) ले अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान प्राप्त गरेका छन् । सुनारले ‘तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३, मलेसिया अन्तर्राष्ट्रिय सामाजिक योगदान सम्मान’ प्राप्त गरेका हुन् ।

लमजुङ घर भइ हाल बेलायतमा बसोवास गर्दै आएका समाजसेवी सुनार राजशान्ति फाउण्डेशन यूकेका संस्थापक हुन् । उनले समाजमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै क्वालिटी फिल्मस् प्रालिले मलेसियाको राजधानी क्वालालम्पुरमा गरेको अवार्ड समारोहमा सम्मान गरिएको हो ।
सम्मान ग्रहण गरेपछि सुनारले आफ्नो समाजसेवा योगदानको मूल्यांकन गर्दै सम्मान गरेकामा आयोजक संस्थालाई धन्यवाद दिए । उनले आफू सधैं समाज विकासका लागि लागिरहने पनि बताए ।

बुवा पूर्णबहादुर सुनार र आमा कृष्ण कुमारीको सुपुत्र सुनार लामो समयदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा सामाजिक सेवामा क्रियाशील छन् । लामो समयसम्म ब्रिटिस गोर्खा सेनामा कार्यरत उनी सेनाबाट अवकास लिएपछि आफूलाई गीतकार, लेखक, साहित्यकार र समाजसेवीका रुपमा परिचित छन् ।
उनी बेलायत र नेपालमा सामाजिक कार्यमा सक्रिय छन् । उनले च्यारिटी संस्था राजशान्ति फाउण्डेशन स्थापना गरेर सो संस्थामार्फत लामो समयदेखि सामाजिक कार्य गर्दै आएका छन् ।

Advertisement