November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनए अस्ट्रियाद्वारा नेपाली समाज अस्ट्रियालाई विश्वमा चिनाउने प्रतिभाहरु सम्मानित

7.5K

अस्ट्रिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रियाले नेपाली समाज अस्ट्रियाको चर्चा बढाउने प्रतिभाहरुलाई सम्मान गरेको छ । एनआरएनए अस्ट्रियाले आङ्ग कामी लामा, बिनय कार्की र निहारिका खड्कालाई एक भब्य समारोहको आयोजना गरी सम्मानित गरेको हो।

एनआरएनए अस्ट्रिया अध्यक्ष भवानी तिवारीको सभापतित्वमा आयोजित समारोह प्रवक्ता शुभद्रा भण्डारीले संचालन गरेका थिए। प्रमुख अतिथिको रुपमा पूर्व परराष्ट्र , सहरी विकास मन्त्री तथा वर्तमान प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का उपस्थित थिए भने महामहिम राजदूत भरत कुमार रेग्मी विशेष अतिथि रहेका थिए।

कार्यक्रममा आइसीसी सदस्य विकाश कार्की, एनआरएनएको इतिहासमा पहिलो महिला अध्यक्षको रुपमा चिनिने शुभ राणा (वर्तमान एनआरएनए अस्ट्रिया संरक्षक), महिला डिआरसी युरोप नुनिता सापकोटा, सल्लाहकारहरु विक्रम लामा, ध्रुब पौडेल, डबिन लामा गुरुङ्ग, निरा लामिछाने, अनुशासन समिति सदस्य मनिराज थेबे, नेपाली सामाजिक तथा सांस्कृतिक संस्था अध्यक्ष मन्जु खड्का, नेपाल आदिवासी जनजाति महासंघ अस्ट्रिया अध्यक्ष स्वेता बज्राचार्य, उपाध्यक्ष शेखर लामा , स्पोर्ट क्लव भियना सगरमाथा अध्यक्ष मानफ्रेड आनराईतर, समाज सेवी निलम सिन्चुरी, बिनय कार्की , निहारिका खड्का लगायत संस्थाका पूर्व पदाधिकारीहरु विशेष अतिथिका रुपमा उपस्थित थिए।

Advertisement

बिनय कार्की , निहारिका खड्कालाई राजदूत भरत कुमार रेग्मीद्वारा दोसल्ला ओढाई र प्रमुख अतिथि डा नारायण खड्काद्वारा कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. खड्काले प्रतिभाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमको आयोजना गरेकोमा एनआरएनए अस्ट्रियाको खुलेर प्रशंसा गर्दै खुशी व्यक्त गरेका थिए।

कार्यक्रममा सम्मानित प्रतिभाहरुको योगदानबारे तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो । जसमा व्यस्तताले कार्यक्रममा उपस्थित हुन नसकेका सम्मानित आङ्ग कामी लामाले पठाएका भिडियो सन्देश समेत सुनाईएको थियो। नेपाली राष्ट्र गान पश्चात केहि दिन अघि अस्ट्रियामा दिवंगत भएकी राम कुमारी राणाको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो।

कार्यक्रमको अर्को विशेष पाटो रहेको थियो स्थानीय संघ संस्थाहरुलाई उदाहरणीय सहकार्यको निम्ति प्रशंसा पत्रले सम्मानित गर्ने। एनआरएनए अस्ट्रिया कार्यसमिति २१-२३ गठन भए पश्चात स्थानीय संघ संस्थाहरुको संयुक्त बैठक आयोजना गरी हरेक संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुको वार्षिक पात्रो तयार पारी संगठित रुपमा कार्यक्रमहरु आयोजना गर्ने सहमति गरिएको थियो।

वार्षिक पात्रो पार्टनरको रुपमा सरल सहकार्यको निम्ति नेसास अस्ट्रिया, नेपाल आदिवासी जनजाति महासंघ अस्ट्रिया , स्पोर्ट क्लव भियना सगरमाथालाई कदर पत्रले सम्मानित गरिएको थियो। सम्बन्धित संस्थाका अध्यक्षहरुले हार्दिकताको साथ कदर पत्र ग्रहण गर्दै सहकार्य निरन्तर रहने प्रतिवद्दता व्यक्त गरेका थिए। अध्यक्ष मानफ्रेड आनराईतरले आफ्नो संस्थाले पहिलो पल्ट सम्मान प्राप्त गरेकोले एनआरएनए अस्ट्रियाको यो कदर पत्रको उच्च सम्मान गर्ने बताएका थिए।

कार्यक्रममा उपस्थित सल्लाहकारहरुले कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएको यो कार्यकालमा धेरै स्तरीय र नौलो प्रकारले कार्यक्रमहरु आयोजना भएको र हरेक क्रियाकलापमा भएका पारदर्शिताको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रमको अन्तमा अध्यक्ष भवानी तिवारीले राम्रो सहकार्यको निम्ति कार्यसमितिका वर्तमान पदाधिकारीहरुलाई धन्यवाद स्वरुप प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रमको समापन भएको थियो।