लण्डन। नेपालबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी स्वर्गीय महारानी एलीजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा उपस्थित हुन लण्डन आइपुगेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका खड्का परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल लगायत आफ्ना टोलीका साथ शनिवार बेलुकी हीथ्रो विमानस्थलमा अवतरण भएको नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) का महामन्त्री इन्द्रहाङ लिङदेनले बताए।
महामन्त्री लिङदेनका अनुसार मन्त्री खड्का आज शनिवार टर्किश एयरबाट हीथ्रो टर्मिनल दुईमा रातीको १०ः२५ बजे अवतरण भएका हुन् ।मन्त्री खड्काकोे स्वागतको लागि हिथ्रो विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य, राजदूतावास उपनियोग प्रमुख रोशन खनाल, एनपीसीसी यूकेका सभापति युवराज गुरुङ, नेपाली कांग्रेसका महासमिति सदस्य कुमारी गुरुङ, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिहरु तर्क जंग गुरु र इन्द्र हाङ लिङदेन, एनपीसीसी यूकेका महामन्त्रीहरु नोर्बु शेर्पा, रोमियन लिम्बू, समितिका कार्यकारी सदस्यहरु लगायतका दर्जन भन्दा बढीको उपस्थिति थियो ।
महारानीलाई श्रद्धाञ्जली अर्पण गर्दै राजकीय अन्त्येष्टिमा सहभागी हुन बेलायत आएका परराष्ट्र मन्त्री डा. नारायण खडका ल्यान्कास्टर हाउस पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुने समेत कार्यक्रम रहेको छ ।
यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुने बुझिएको छ।