April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अब हाउजिङ बेनिफिटले मोर्गेज तिर्न पाउने, ‘राइट–टु–बाइ’ हाउजिङ एसोसियसनलाई पनि लागू हुनेः प्रधानमन्त्री जोह्न्सन

5.8K

खुशी लिम्बू,

लण्डन । बेलायतमा कम आय भएका परिवार जसले पहिलो पटक घर खरिद गर्दैछन् भने उनीहरुलाई सरकारबाट लाग्ने बिभिन्न कर र अन्त: शुल्कहरुमा छुट दिइंदै आएको छ । कम आम्दामीकै कारण कुनै पनि परिवार घरविहीन नहोउन् र जनतालाई आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले प्रधानमन्त्री मार्गरेट थ्याचरको पालादेखि पहिलो पटक घर खरिद गर्नेहरुलाई त्यस्तो छुट दिइंदै आएको हो । अझ ‘राइट–टु–बाइ स्कीम’ अन्तर्गत कम्तिमा ३ बर्षदेखि काउन्सिल घरमा बस्दैआएकाहरुलाई बढीमा १ लाख १६ हजार पाउण्डसम्म ‘डिस्काउण्ट’ दिने प्रावधान पनि छ ।

तर यस प्रावधान अन्तर्गन केही अप्ठ्याराहरु पनि छन् । पहिलो, ‘राइट–टु–बाइ स्कीम’ अन्तर्गत आफू बसेको घर खरिद गर्न तपाईं ‘काउन्सिल हाउस’ मा वसोवास गरेको हुन पर्दछ – ‘हाउजिङ एसोसियसन’ को घरमा बसेकाहरुका लागि ‘राइट–टु–बाइ’ लागू हुँदैन । र अर्को, तपाईंले भाडामा रहँदा भाडा तिर्न हाउजिङ बेनिफिट पाउनुहुन्थ्यो भने घर किनिसकेछपछि तपाईंलाई हाउजिङ बेनिफिट मिल्दैन ।

Advertisement

प्रधानमन्त्री बोरिस जोह्न्सनको आजको भनाइअनुसार उनको सरकारले अब यी दुवै अप्ठ्याराहरुलाई खुकुलो पार्दै हाल महंगीको सास्तीमा परेका जनताहरुलाई केही राहत दिने भएको छ ।

प्रधानमन्त्रीले आफनै पार्टीभित्रबाट उठेको आफ्नो नेतृत्वप्रतिको अविस्वासको खड्को पार गरे पनि विद्रोही सहकर्मीहरु र जनताको रोषलाई शान्त पार्न केही नीति र कार्यक्रमहरु लिएर प्रस्तुत हुने भएका छन् । जसअनुसार उनले कम आम्दामी भएका परिवारका लागि सार्वजनिक आवास तथा घर खरिद प्रणालीलाई खुकुलो पार्ने नयाँ नीति लिएर प्रस्तुत हुने सोचमा छन् ।

आज ब्ल्याकपूलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री जोह्न्सनले बढ्दो महंगीलाई ध्यानमा राख्दै सार्वजनिक घर (काउन्सिल हाउस) कम आय भएकाहरुले पनि खरिद गर्न सक्ने प्रणाली ल्याउने सोचमा रहेको बताए । उनका अनुसार हाउजिङमा आउने यो नयाँ प्रणालीले हरेक क्षेत्रमा बढेको महंगीको मार खेपिरहेका परिवारहरुलाई राहत मिल्नेछ ।

बेलायतमा हाल हाउजिङ बेनिफिटका लागि मात्र सरकारले बार्षिक बजेट ३ अरब पाउण्ड स्टलिङ खर्च गर्दै आएको छ । जसमध्ये धेरैजसो रकम ‘प्राइभेट सेक्टर’ का घरधनीहरुको खातामा जम्मा हुन्छ । तर प्रधानमन्त्रीको सोचअनुसारको नयाँ हाउजिङ प्रणालीमा काउन्सिल वा हाउजिङ एसोसियसनका नयाँ खरिदकर्ताहरुले आफ्नो आय हेरी हाउजिङ बेनिफिट पनि पाउन सक्छन् र जुन बेनिफिट सरकारलाई मोर्गेज तिर्न प्रयोग गर्न सक्नेछन् ।

यसबाट एकातिर ३ अरब पाउण्ड सरकारकै बैंक खातामा रहने र अर्कातिर जनतालाई पनि आत्मनिर्भर बनाउँदै उनीहरुलाई केही समयपछि घरधनी बनाउने प्रधानमन्त्रीको लक्ष्य रहेको देखिन्छ ।

तर प्रतिपक्षी लेबर पार्टी र अन्य आलोचकहरुका अनुसार प्रधानमन्त्रीको यो योजना तत्कालका लागि राम्रो देखिए पनि लामो समयदेखि विद्यमान बेलायतको आवासको समस्यालाई पुरा गर्नेछैन । यस प्रावधान अन्तर्गत सुरुमा केहीले घर खरिद गर्न पाउलान् तर केही समयपछि नै सरकारी घरहरु सिद्दिने छन् र पछिकाहरुले लाभ लिन सक्ने छैनन् ।