काठमाडौं । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१’ को लागि आयोजित भ्रष्टाचार ‘विरुद्धको गीत प्रतियोगिता’को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि ‘जनतालाई रुवायो’लाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
सो निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीद्धारा जारी पत्रमा उल्लेख गरिएको छ ।
सर्जक एवं वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द र चर्चित गायक एवं सङ्गीतकार शिशिर योगीको सङ्गीत तथा स्वरमा रहेको ‘जनतालाई रुवायो’ गीत छनौटको लागि वरिष्ठ सङ्गीतकर्मी प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिको सिफारिसमा सो गीतलाई पुरस्कार प्रदान गरिने भएको हो ।
अमेरिकाको टेक्सासमा स्थापित हेम–सरिता पाठक फाउन्डेसनले सो पुरस्कारको स्थापना गरेको हो ।
वि.सं. २००६ असोज १५ गते दोलखाको सुष्पा क्षमावतीमा जन्मिएका गीत सर्जक थपलियाको भ्रष्टाचारका ४ र देशभक्तिका ७ गीत रेकर्ड यसअगि भइसकेका छन् भने मुक्तक, कविता, गीत, कथा र निबन्धका ५ कृति प्रकाशित रहेका छन् ।
स्वतन्त्र सेनानी थपलियाले यसअगि प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार र भीष्म पितामहको सम्मान लगायत सर्वोत्कृष्ट गीतकारको लागि हिमालयन इन्टरनेसनल अवार्डसमेत पाइसकेका छन् ।
यसैगरी वि.सं. २०२७ फागुन २६ गते दाङको देउखुरी, लमही ६ मा जन्मिएका सङ्गीतकार योगीको पहिचान, सुस्केरा, जम्काभेट, आकर्षण, मोडमोडमा लगायत गीति एल्बमसहित ५०० गीतहरु रेकर्डिङ भइसकेको छ । जसमध्ये योगीको १ दर्जनबढी भ्रष्टाचार विरुद्धका गीतहरू रहेका छन् ।
सङ्गीतकार योगीले छिन्नलता गीत पुरस्कार, नारायण गोपाल युवा सङ्गीत पुरस्कार, रमेश विकल सम्मान लगायतबाट सम्मानित भइसकेका छन् ।
यसअगि पनि एक लाखको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता २०८१’को उत्कृष्ट पच्चीस घोषणा भइसकेका छ ।
प्रतिष्ठानले दुई लाख राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्ने गरेको छ ।
यस्तै प्रतिष्ठानले नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदानसमेत उपलब्ध गराउदै आएको छ । यसैगरी प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।
पुरस्कार निकट भविष्य मै काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी प्रतिष्ठानले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।