काठमाडौं । रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्धसङ्ग्रह ‘अफगानिस्तानको आगो’ लोकार्पण भएको छ । अनेसास पोर्चुगलको आयोजनामा सङ्ग्रह लोकार्पण गरिएकोक हो ।
कार्यक्रमका प्रमुख अतिथि पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, विशिष्ट अतिथिहरू नेपाली राजदुतावास पोर्चुगलका द्धितीय सचिव रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक रामप्रसाद पन्तको बाहुलीबाट संग्रह लोकार्पण गरिएको हो ।
कार्यक्रममा अनेसासका निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटाले स्वागत मन्तव्य राखेका थिए भने कृतिमाथि अर्जुन श्रीले टिप्पणी गरेका थिए ।
अफगानिस्तानमा भोगेको भोगाइ नै पुस्तकको मुल लेखकीय रहेको लेखक पन्तले बताए ।
कार्यक्रममा नेपाली राजदुतावास पोर्चुगलका द्धितीय सचिव रामबाबु नेपाल, एनआरएनए आइसीसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल अध्यक्ष चोपकुमार मगर, नोबेल साकोस साहित्य संस्थाको संस्थापक अध्यक्ष सरस्वती गौतम, नेपाल पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल लगायतले शुभकामना राखेका थिए ।
प्रवासमा भोगेको पीडालाई पुस्तकको रुपमा ल्याउनु महत्वपूर्ण रहेको भन्दै प्रमुख अतिथिले लेखकलाई धन्यवाद दिए ।
अध्यक्ष सवी श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिएका थिए भने कार्यक्रमको संचालन अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानले गरेका थिए ।
पोर्चुगलमा रहेका विभिन्न नेपाली संघसस्था संगठनका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, ब्यावसायी, लेखक,कलाकार, गायक संगीतकार लगायतको बृहत उपस्थितिमा एभरेस्ट नेपाल रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको थियो ।




