सउल । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, दक्षिण कोरिया (प्रवास समिति)ले नेपालमा बहुभाषा, बहुसंस्कृति र सभ्यताहरू दबिएर बस्न बाध्य भएको बताएको छ । लामो समयदेखि एकल जाती, एकल भाषा र संस्कृतिका आधारमा राज्यसत्ता संचालन गर्ने अभ्यास भएको हुँदा सयस्तो अवस्था सिर्जना भएको समितिको ठम्याई छ ।
यस बर्षको अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा समितिले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम, “अन्तर्राष्ट्रिय मातृभाषा उत्सव – २०२४” सम्पन्न भएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘नेपाल धेरै लामो समयदेखि बहुभाषिक चरित्रको छ । बहुभाषा हुनसाथ बहुसंस्कृति हुने भईहाल्यो । यी चिजहरु कुनै पनि समाज वा राष्ट्रका लागि निधि हुन्, सम्पती हुन् । तर नेपालको राज्यसत्ता भने लामो समयदेखि एकल जाती, एकल भाषा र संस्कृतिका आधारमा राज्यसत्ता संचालन गर्ने अभ्यासबाट आएको छ । जसले गर्दा हाम्रो बहुभाषा, बहुसंस्कृती र सभ्यताहरु दबिएर बस्न बाध्य भए । एउटा भाषा वा संस्कृति लोप हुनु भनेको त्यो समुदायको हजारौं बर्ष अघिदेखि निर्मित ज्ञान परम्परा मासिनु हो । यसरी भाषाहरू क्रमशः हराउँदै जाने क्रम नरोकिए हाम्रो समाजको ठूलो हिस्सा आफ्नो जरासँगको सम्बन्धबाट बेदखल हुन पुग्नेछ । मानव सभ्यताका लागि मौलिक संस्कृति र भाषावीहिन समाज बुख्याँचा शिवाय केही हुन सक्दैन ।’
अध्यक्ष समीप खेम पुन र सचिव दिलिप बान्तावाद्धारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार सप्ताह ब्यापी कार्यक्रममा व्यक्त बिचार तथा सृजनाका सम्पूर्ण सामग्रीहरुलाई पुस्तकका रुपमा तयार गरिने छ ।