April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरियामा कवि शकुन आँशुको ‘एकल कविता वाचन’

1.8K

सउल । कोरियामा कवि शकुन आँशुको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार सउलमा आँशुले एक दर्जन बढी कविता र गजल वाचन गरेकी थिइन् ।

इतर अभियान दक्षिण कोरियाको आयोजित एकल कविता वाचन कार्यक्रममा ‘प्रतिक्षा’, ‘दुखाई’, ‘पितृसत्ताको अनुहार’, ‘झरी’, ‘प्रेमको परिधी’, ‘सत्तामोह’, ‘जीवनक‍ो पाठशाला’, ‘अजम्बरी’, ‘ऊ गएको साँझ’ लगायतका शीर्षकका कविताहरू सुनाईन् ।

कार्यक्रममा आफ्नो कविता लेखनको सुरुवाती क्षण स्मरण गर्दै कवि आँशुले अरुको कविताबाट प्रभावित भएर लेखेको कविताले अञ्चलव्यापी प्रतियोगितामा तेस्रो पुरस्कार पाएपछि विश्वास गर्न नसकी त्यसपछि प्रतियोगितामा भाग लिनै छोडिदिएको बताईन् । उनलाई लाग्यो, आफू सिकारु कवि, आफूभन्दा राम्रा लेख्ने कविताले पुरस्कार नपाएपछि रिजल्ट फेयर नहुँदो रहेछ भन्ने उनको बाल मस्तिष्कमा पर्यो । तर कविता भने निरन्तर लेखिरहिन् ।

Advertisement

कवि शकुन आँसुको एकल वाचनमा आँसुको कविता ‘कलीयुगकी सुम्निमा’ कवि मात्रिहाङ नेम्वाङले वाचन गरेका थिए भने ‘शिशिर सम्झना’ कवि दीपा मेवाहाङ राईले वाचन गरेकी थिइन् ।

कवि आँसुले कार्यक्रममा गजलसमेत सुनाएकी थिइन् । उनका रचनाहरूमा देश प्रेम, आफ्नो माटो र आमा, आदीवासी सौन्दर्य, अधिकार, प्रेम, घृणा, बेथिति विरुद्ध आवाज, समाजको वास्तविक यथार्थ र आदर्शोन्मुख भावहरू प्रस्तुत भएका थिए ।

कवि आँसु रोजगारीको सिलसिलामा झण्डै १ दशकदेखि कोरिया रहँदै आएकी छिन् । केही समय पछि नेपाल फर्किने योजनामा रहेकी आँशुले कोरियामा रहेर साहित्य सृजना गर्दै साहित्यक‍ो बिस्तारका लागि काम गरेको हुँदा आयोजक संस्थासहित कोरियामा रहेका संस्थाले सम्मान र बिदाइ कार्यक्रमसमेत गरेको थियो ।