बुसान । लिम्बुहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ, बुसान कोरिया शाखाले लोकसेवा तयारी गरिरहेका लिम्बुहरूलाई प्रोत्साहन स्वरुप रकम प्रदान गर्ने भएको छ । लोकसेवा तयारी गरिरहेका ५ जना लिम्बुहरूलाई जनही २० हजार रुपैयाँको दरले प्रदान गरिने कियाचु बुसान शाखाका अध्यक्ष सन्जोग कन्दङवाले जानकारी दिए
अध्यक्ष कन्दङ्वाका अनुसार कियाचु बुसान शाखाले ५० लाख वनको अक्षय कोष निर्माण गरेको छ । जसबाट सरकारी सेवामा समुदायगत चासो अभिवृद्धि गराउने उद्देश्यले प्रोत्साहन रकम प्रदान गर्न लागिएको हो ।
लोकसेवा तयारी कक्षाको प्रोत्साहन रकम प्राप्त गर्नको लागि लोकसेवा परीक्षाको आवेदन दिएको र हालसम्म कुनै सेवा तथा जागीरमा नभएको हुनुपर्ने र लिम्बू समुदायकै हुनुपर्ने प्रावधान रहेकोसमेत उनले बताए ।
अध्यक्ष कन्दङ्वाका अनुसार सोही अक्षयकोषमार्फत लिम्बू समुदायको गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई एक लाख रुपैयाँको छात्रवृत्ति र लिम्बू समुदायमा विशिष्ट योगदान दिएका व्यक्तिलाई एकलाख रुपैयाँ राशिको कियाचु बुसान पुरस्कार समेत प्रदान गरिनेछ ।